रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला (फोटो फिचर)

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार २०:०५
रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला

विराटनगर । मोरङको रंगेलीमा ३४ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत एक दिने किशोरी स्वास्थ्य परामर्श मेला आइतबार आयोजना गरिएको छ ।

रंगेली नगरपालिकाले आयोजना गरेको मेलाको उद्‌घाटन गर्दै प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरुषहरूका कारण महिला हिंसा बढेको र यसको अन्त्यका लागि सामाजिक व्यक्तित्व, सामाजिक अगुवा, राजनीतिक दल, सरकारी, गैरसरकारी संस्था एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।

उनले प्रदेशमा लैंगिक हिंसा नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गर्ने बताएका थिए । आगामी दिनमा प्रदेशमा सबै प्रकारको महिला हिंसा नियन्त्रणका लागि प्रदेश सभाबाट आवश्यक कानुन निर्माण गर्ने मुख्यमन्त्री कार्कीले प्रस्ट्याए ।

उनले किशोरीहरूको महिनावारी बढ्दो उमेरसँगै यो प्राकृतिक प्रक्रिया भएकोले त्यस बेला परिवारका अभिभावकहरूले पोसिलो खाना, हौसला प्रदान एवं स्वास्थ्य सम्बन्धी जानकारी दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले अहिले पनि पितृसत्तात्मक सोचाइबाट समाज अगाडि बढेको बताउँदै महिला विभिन्न प्रकारका हिंसाबाट प्रताडित हुनु परेको बताइन् । उनले समाजबाट महिला हिंसा नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवाल (बगडिया), उपप्रमुख झुमाकुमारी निरौलालगायतले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनीहरूले समाजमा छोराछोरीबीच भेदभाव र महिला हिंसा नियन्त्रणमा हामी सबैले आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने बताए ।

सो अवसरमा कोशी प्रदेश सभाका सभामुख अमरबहादुर विष्ट, मोरङ जिल्लाका विभिन्न  पालिकाका उपप्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

रंगेली नगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालय, ७ वटा संस्थागत विद्यालय र एउटा क्याम्पसका कक्षा ६ देखि १२ कक्षासम्म अध्ययनरत किशोरीहरूका लागि किशोरी स्वास्थ्य परामर्श मेला आयोजना गरेको हो ।

किशोरी स्वास्थ्य परामर्श मेलामा महिनावारी सम्बन्धी परामर्श दिएको थियो । मेलामा महिनावारी स्वच्छता, किशोरी स्वास्थ्य सम्बन्धी जनचेतना तथा परामर्श, महिनावारिको चक्र, महिनावारिका समयमा देखिने समस्याहरूको व्यवस्थापन, बालविवाहका समस्यालगायतका विषयमा स्वास्थ्यकर्मीले किशोरीहरूलाई परामर्श दिइएका थिए ।

सो अवसरमा विद्यार्थीहरूले बालविवाह, घरेलु हिंसालगायतका विषयलाई समेटेर सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.