मधेसको मुख्यमन्त्री नियुक्ति विवादमा आज फैसला आउने सम्भावना

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार ११:२९

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज (सोमबार) फैसला आउने सम्भावना बढेको छ । मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदरको माग गर्दै परेका तीनवटै रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बिहीबारदेखि निरन्तर बहस भइरहेको छ।

सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। रिट निवेदकहरूले धारा १६८ को उपधारा (२) जीवितै हुँदाहुँदै संविधानको उल्लङ्घन गरेर उपधारा (३) बमोजिम सरकार गठन भएको भन्दै नियुक्ति बदरको माग गरेका छन्।

रिट दर्ता: जनकपुरधामका रक्कीप्रसाद साह, सिरहाका सुजित यादव र अर्जुन साहले छुट्टाछुट्टै रिट दायर गरेका थिए। पछि, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री यादवको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा अर्को रिट दायर गरेका थिए।

आजको पेसीमा विपक्षी (मुख्यमन्त्री पक्ष) का अधिवक्ताहरूले आफ्नो बहस टुङ्ग्याएपछि रिटकर्ताको तर्फबाट जवाफी बहस हुनेछ र त्यसपछि फैसला आउन सक्ने सम्भावना रहेको छ। यसअघि, कार्तिक २५ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.