हतियार जोगाउन नसकेको भन्दै डीएसपीसहित १७ सशस्त्र प्रहरीलाई कारबाही सिफारिस

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १३:४७

काठमाडौं । गत भदौ २४ गते देशव्यापी रूपमा भएको जेनजी प्रदर्शनका क्रममा आफ्नो कमान्डमा रहेका महत्त्वपूर्ण हतियार र बन्दोबस्तीका सामान जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलले एक जना डीएसपीसहित १७ जना कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

सशस्त्र प्रहरीको कार्य विभागका डीआईजी कमल गिरीको नेतृत्वमा गठित आन्तरिक छानबिन समितिले प्रदर्शनका क्रममा भएको कमजोरीबारे विस्तृत प्रतिवेदन तयार पारी प्रधान कार्यालयमा पेस गरेको हो।

छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये मिनभवनस्थित सशस्त्र प्रहरीको बेसका तत्कालीन प्रमुख डीएसपी गौतम कुँवर पनि रहेका छन्। जेनजी प्रदर्शन हुँदा गौतम नेतृत्वको टोलीले आफ्नो कमान्डमा रहेको सुरक्षा बेस र हतियारहरू जोगाउन नसकेको आन्तरिक छानबिन समितिको निष्कर्ष छ। हाल उनी नम्बर–२० विपद् उद्धार गण सिनामंगलमा कार्यरत छन्।

भदौ २४ गते प्रदर्शनकारीले मिनभवनस्थित (यातायात व्यवस्था कार्यालय परिसरभित्र रहेको) सशस्त्रको बेसमा तोडफोड र आगजनी गरेका थिए। यस घटनामा मिनभवन बेसमा कार्यरत १३ जना र झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको बेसका ४ जना गरी कुल १७ जनालाई कारबाही सिफारिस गरिएको हो। जेनजी प्रदर्शनका क्रममा हतियार लुटपाट र आगजनी हुनुलाई आन्तरिक छानबिनले ‘गम्भीर सुरक्षा चुक’ मानेको छ। उच्च अधिकृतहरूका अनुसार मिनभवन र झापाबाट गरी करिब ४० थान हतियार हराएको थियो।

हराएकामध्ये मिनभवनबाट २० थान एसएलआरमध्ये ११ थान जलेको अवस्थमा भेटिएको थियो। यसैगरी, बानेश्वरबाट लुटिएको एउटा एसएलआर भक्तपुरको चाँगुनारायणमा भेटिएको थियो। झापाको बेलडाँगीमा पनि ४ नाल एसएलआर आन्दोलनकारीले आगजनी गरेको अवस्थामा फेला परेको थियो। यद्यपि, लुटिएकोमध्ये १५ देखि २० थान हतियार भने विभिन्न ठाउँबाट बरामद गरिएको सशस्त्रका ती अधिकृतको भनाई छ।

हतियारको क्षतिसँगै प्रदर्शनमा सशस्त्र प्रहरीका ५० भन्दा बढी सवारी साधनमा समेत आगजनी गरिएको थियो। नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटीस्थित मन्त्रीक्वार्टरमा सशस्त्रका गाडीहरूमा आगजनी भएको थियो। यसैबीच, विवादित बनेको मिनभवनमा अवस्थित बेसलाई अहिले त्यहाँबाट स्थानान्तरण गरिएको छ र उक्त स्थानमा नम्बर–९ पशुपति बाहिनीको मुख्यालय स्थापना गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.