
काठमाडौं । नेकपा (एमाले) ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई छिटो र छरितो बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। चितवनमा सम्पन्न १०औं महाधिवेशनमा पहिलो पटक यसको सफल अभ्यास गरेको एमालेले यसपटक पनि सोही प्रविधिलाई निरन्तरता दिने निर्णय गरेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व चयनका लागि मेसिन प्रयोग गर्ने निर्णय भइसकेको छ। यसका लागि पार्टीले टेण्डर आह्वान गरिसकेको र चाँडै नै प्राविधिक कम्पनी छनोट गरी सम्झौता गरिने जनाइएको छ। विद्युतीय मेसिनको प्रयोगले मतगणना प्रक्रिया छिटो हुने र नतिजा चाँडै सार्वजनिक गर्न सकिने विश्वास पार्टीले लिएको छ।
एमालेको यो महाधिवेशनबाट १५ पदाधिकारीसहित २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन हुनेछ। महाधिवेशनमा देशभरबाट करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन्। आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी तीब्र पारिएको छ। महाधिवेशनको भव्य उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने गरी स्थान तय गरिएको एमालेले जनाएको छ।

























