
जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज (शुक्रबार) राजनीतिक दलहरूले दाबी पेस गर्दैछन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले तोकेको समयसीमा आज साँझ ५ बजेसम्म रहेको छ।
दाबी प्रस्तुत गर्नुअघि नेकपा (एमाले) बाहेकका सात दलीय गठबन्धनका नेताहरू निर्णायक आन्तरिक छलफलमा व्यस्त छन्। यसअघि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि यो प्रक्रिया सुरु भएको हो।
सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै नयाँ सरकार गठन गर्न आदेश दिएको थियो। विश्वासको मत लिन नसक्ने भएपछि यादवले गत मंसिर १७ गते राजीनामा दिएका थिए। यादव गत कात्तिक २४ गते बर्दिबासको पानस होटेलमा शपथ लिएर विवादित बनेका थिए।
सोही दिन प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका थिए। नयाँ मुख्यमन्त्री टुङ्गो लगाउनका लागि एमाले बाहेकका सात दलीय गठबन्धन (नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी) का नेताहरू बिहीबार आठ घण्टा लामो छलफलमा जुटेका थिए।
जसपा संसदीय दलका नेता सरोजकुमार यादवले छलफलपछि नयाँ मुख्यमन्त्रीको टुङ्गो लागिसकेको बताएका छन्। उनले आजै दिउँसो २ बजे सात दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी रहेको जानकारी दिए। यादवका अनुसार सात दलीय गठबन्धनको भावना अनुसार नै सरकार गठन हुनेछ र मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलबाट मन्त्रीहरूको पनि शपथ हुने दाबी गरिएको छ।

























