
काठमाडौँ । गत वर्षको असोज र यस वर्षको बाढी पहिरोले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । १६० किलोमिटर लम्बाई रहेको उक्त राजमार्गको काभ्रेपलान्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड बाढीले क्षतिग्रस्त भएको थियो ।
गत वर्षको बाढीले राजमार्गको ३०.५ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले काभ्रेपलान्चोक–सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको हो। बीपी राजमार्ग संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नको लागि महत्त्वपूर्ण मानिन्छ। यो सडक जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो।
क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको यातायात र सहरी विकास मन्त्रालयले जनाएको छ। ४ खण्डमा पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ। यो पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ।
बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयायतामा पुनर्निर्माण हुनेछ। यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ। क्षतिग्रस्त राजमार्गको खण्डमा हाल भइरहेको इन्टरमिडियट लेनलाई दुई लेनको बनाई पुनर्निर्माण गरिँदैछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएका छन्। अनुगमन टोलीमा सडक विभागका महानिर्देशक विजय जैशी र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपानेलगायतका अधिकारीहरू सहभागी थिए।

























