सर्वोच्च अदालतको नयाँ भवनबाट इजलास सञ्चालन हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १५:३८

काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने भएको छ । भदौ २४ मा भएको आगजनीका कारण सीमित इजलासमा मात्रै सुनुवाइ भइरहेकोमा अब इजलास पूर्ण रूपमा सञ्चालन हुने भएको छ ।

आइतबारदेखि ११ वटा इजलास गठन गरेसँगै सर्वोच्चको सुनुवाइ प्रभावित हुने समस्या कम हुने देखिएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ मा भएको आगजनीले सर्वोच्च अदालतको इजलास कक्षहरूमा क्षति पुगेको थियो । इजलास बस्ने ठाउँको अभावका कारण हालसम्म सीमित मुद्दाको मात्रै पेसी तोकेर सुनुवाइ हुँदै आइरहेको छ ।

Advertisement

अब सर्वोच्चको ‘एनेक्स भवन’ बाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनकुमार कोइरालाले नयाँ भवन निर्माणको कार्य पूरा नभए पनि हाल अस्थायी रूपमा ६ वटा थप इजलास सञ्चालनमा ल्याउन खोजिएको बताए ।

नयाँ भवन निर्माण कम्पनीलाई ठेक्काको म्याद चैतसम्म भए पनि तत्काल इजलास गठन गर्नका लागि सीमित कोठा तयारी पार्न निर्देशन दिइएको थियो । इजलास सञ्चालनका लागि आवश्यक टेबल, कुर्सी, इन्टरनेट जडानको काम सम्पन्न भइसकेको छ । हाल सर्वोच्च अदालतमा २१ न्यायाधीश छन् । तर, जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण पूर्ण रूपमा इजलास सञ्चालन हुन नसक्दा अदालतमा ५० प्रतिशत क्षमतामा मात्रै काम भइरहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.