
सुनसरी । धरानमा विद्यालयको बसले ठक्कर दिँदा आज (बुधबार) अटो चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१९ स्थित मिलन चौकमा को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट गइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
सुनसरी प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार बिहान विद्यार्थीहरूलाई लिएर विद्यालय जाँदै गरेको बसले अटोलाई ठक्कर दिँदा २४ वर्षीय अटो चालक निमेष भुजेल गम्भीर घाइते भएका थिए ।
धरान–१९ निवासी भुजेललाई तत्काल उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए पनि बिहान करिब १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार ४८ वर्षीय टिकराम लिम्बु घाइते भएका छन् र उनको सोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरीले विद्यालय बसका चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका तामाङलाई लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ।























