मोरङमा रुखबाट लडेर र सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १४:२२
सांकेतिक तस्बिर

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै पालिकामा भएका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जहदा गाउँपालिकामा रुखबाट लडेर र सुनवर्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

जहदा गाउँपालिकाको बुधनगर टोलमा बिहीबार साँझ पिठारीको रुखको हाँगा काट्ने क्रममा लडेर ६० वर्षीय बुद्धिराम राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

यसैगरी सुनवर्षी नगरपालिकाको कासीजाम क्षेत्रमा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले राति सवा ८ बजे ठक्कर दिँदा सुनवर्षी-४ का ६२ वर्षीय जयरामप्रसाद दास गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय अकलेशकुमार मण्डल समेत घाइते भएका छन् । उनको अहिले नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.