
विराटनगर । संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसहितको टोलीले विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहको शुक्रबार स्थलगत निरीक्षण एवं अनुगमन गरेकी छन् ।
उनले सुधारगृहका साथै बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र (१०४), बाल हेल्प लाइनसेवा विराटनगर र पूर्वाअञ्चल बालसेवा आश्रमको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा बाल सुधारगृहका व्यवस्थापक मिलन चौहानले बाल सुधारगृहका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
बाल सुधारगृहको क्षमता ५० जनाको भए पनि हाल २ सय ५४ जनालाई राखिएको छ । धेरै संख्यामा बाल बिज्याइँकर्तालाई राख्नु पर्दा धेरै समस्या रहेको चौहानले बताए । सुधारगृहमा सबैभन्दा धेरै १ सय ३९ जना जबरजस्ती करणी, ३० जना कर्तव्य ज्यान, २८ जना लागूु ैषध, ११ जना चोरी तथा नकबजनी चोरी, ८ जना ज्यान मार्ने उद्योग, ७ जना अप्राकृतिक मैथुन, ६ जना कर्तव्य ज्यान र डाँका, ८ जना सामूहिक जबरजस्ती करणी, ५ जना सवारी ज्यान र ४ जना डाँका मुद्दासँग सम्बन्धित छन् ।
सुधारगृहमा सुनसरीका ६०, मोरङका ५६, झापाका ४१, भोजपुरका १८, उदयपुरका १४, ताप्लेजुङ र संखुवासभाका १०–१०, इलामका ९, ओखलढुंगा, धनकुटा र तेह्रथुमका ८–८, पाँचथरका ६, कञ्चनपुर र बाँकेका २–२, सप्तरी, सोलुखुम्बुका १ जना बाल बिज्याइँकर्तालाई राखिएको छ ।
चौहानका अनुसार बाल सुधारगृहमा १८ वर्षसम्मका १ सय ४१ र १८ वर्षभन्दा माथिका १ सय १३ जनालाई राखिएको छ । क्षमताको अनुपातमा अत्याधिक संख्यामा बाल बिज्याइँकर्ताहरु राखिनु, १८ वर्षमाथिकालाई राख्ने छुट्टै व्यवस्था नहुनु, संख्याको तुलनामा न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति, सुरक्षालगायतका सुविधा नहुनु, लागुऔषध सेवनकर्तालाई पनि अन्य बाल बिज्याइँकर्तासँगै राखिनु, बालबालिकाको मुद्दा १ सय २० दिनमा फैसला हुने भनिए पनि हुन नसक्नु लगायतका कारणले समस्या बढिरहेको उनको भनाइ छ ।
उनले बालसुधार गृहको वरिपरि पर्खाल नभएकाले बाल बिज्याइँकर्ताहरु भाग्ने गरेको बताए । फरार भएका कतिपय अझैसम्म फेला नपरेको र सुधारगृहमा बारम्बार विवाद एवं झडप हुने गरेको जानकारी चौहानले दिए ।
बाल सुधारगृहको अनुगमन एवं निरीक्षणपछि मन्त्री श्रेष्ठले बाल सुधारगृहको व्यवस्थापन, पर्खाल निर्माण र मर्मत सम्भारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । सुधारगृहमा पटक–पटक झैझगडा भइरहने र बाल बिज्याइँकर्ताहरु पर्खाल नाघेर तथा सुरक्षाकर्मी तथा कर्मचारीलाई धक्कामुक्की गर्दै भाग्ने गरेका छन् ।
























