यी हुन् मंसिरका ३ उत्कृष्ट प्रहरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ४, शुक्रबार १८:११

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ। गम्भीर अपराधका घटनाहरूको सफल अनुसन्धान गरी दोषी पक्राउ गर्न सफल तीन जना प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीले यो सम्मान प्रदान गरेको हो ।

सम्मानित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार टिका राम निरौला छन्।

प्रहरी नायव निरीक्षक कार्कीले सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालक दिनेश कुमार चौधरीको गोली हानी हत्या गरिएको घटनामा मुख्य योजनाकार नन्दकिशोर साहसहित सात जनालाई पक्राउ गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी, मोरङको लेटाङमा १२ वर्षीया बालिका अंशु गौतमको हत्या भएको घटनाको अनुसन्धानमा प्रहरी सहायक निरीक्षक कार्की र सहायक हवल्दार निरौलाले महत्वपूर्ण सुझबुझ देखाएका थिए । उनीहरूकै उल्लेखनीय प्रयासले घटनामा संलग्न पदमबहादुर अधिकारीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सफलता मिलेको थियो ।

विभागीय मूल्य-मान्यता र आदेशको पूर्ण पालना गर्दै उच्च मनोबलका साथ कर्तव्य पूरा गरेको र नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाएको भन्दै उनीहरूको कार्यको उच्च मूल्याङ्कन गरी संयुक्त रूपमा यो पुरस्कार प्रदान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.