
काठमाडौं । नेपालले विश्व समुदायसमक्ष शान्ति र प्रभावकारी नेतृत्वको आधार आन्तरिक स्थिरता र मानसिक सन्तुलन भएको सन्देश दिएको छ ।
संयुक्त राष्ट्र संघले दोस्रो विश्व ध्यान दिवसका अवसरमा न्युयोर्कस्थित मुख्यालयमा आयोजना गरेको ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ कार्यक्रममा नेपालका तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका गुरुदेव एलपी भानु शर्माले जीवन विज्ञान र ध्यानको महत्वबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा शर्माले आधुनिक विश्वले भोगिरहेका चुनौतीको समाधानका लागि प्रत्येक व्यक्तिको मन स्थिर हुनु आवश्यक रहेको उल्लेख गर्दै ध्यानलाई अनिवार्य अभ्यासका रूपमा अपनाउन आग्रह गरे ।
संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ‘विश्व ध्यान दिवस’ का रूपमा मनाउन थालेको विषयलाई उनले वैश्विक चेतनाको ऐतिहासिक उपलब्धि भएको बताए ।
उनले परम्परागत कूटनीति र नीति निर्माणसँगै आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको आधारका रूपमा स्वीकार गरिएकोमा खुसी व्यक्त गरे ।
ध्यानको अभ्यासले विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्ने बताउँदै शर्माले ५ प्रमुख सन्देश प्रस्तुत गरे । ती सन्देशमा शान्ति र द्वन्द्व समाधानका लागि आन्तरिक रूपान्तरणको अपरिहार्यता, बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गर्ने, ध्यानको व्यावहारिक रूपान्तरण, नेपालद्वारा विश्वलाई जागरणको आह्वान तथा मानसिक स्वास्थ्यलाई ‘वैश्विक पूर्वाधार’ का रूपमा विकास गर्नुपर्ने प्रस्ताव समावेश थिए ।
कार्यक्रममा नेपाल, भारत, श्रीलंका, एन्डोरा र मेक्सिकोका प्रतिनिधिले ध्यान दिवस मनाउनुको उद्देश्य र महत्वबारे धारणा राखेका थिए । ध्यानलाई मानिसको दैनिक जीवनसँग जोड्न सके अशान्ति, कलह र तनाव अन्त्य हुनेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायत विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

























