बालक पनि छैनन् सुरक्षित, बढ्दैछ यौन हिंसा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ६, आइतबार १७:०७

विराटनगर । बाल यौन हिंसा भन्नेबित्तिकै बालिका मात्रै पीडित हुन्छन् भन्ने धारणालाई तथ्यले गलत सावित गरिदिएको छ ।

पछिल्लो अध्ययन र तथ्यांकले नेपालमा बालक पनि ठूलो मात्रामा यौन हिंसाको शिकार भइरहेको देखाएको छ । घटना बढ्दै जाँदा उजुरी भने न्यून मात्रामा पर्ने गरेको पाइएको छ ।

भ्वाइस अफ चिल्ड्रेन (भीओसी)सँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद् अन्तर्गत बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) कोशी प्रदेशले विराटनगरमा आइतबार आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार विश्वभर प्रत्येक ७ मध्ये १ बालक १८ वर्षको उमेर नपुग्दै यौन हिंसाबाट प्रभावित हुने गरेका छन् । युनिसेफको अध्ययनलाई उद्धृत गर्दै भीओसीकी कार्यक्रम म्यानेजर कृति भट्टराईले विश्वमा ४१ करोडदेखि ५३ करोड बालक तथा पुरुष यौन दुर्व्यवहार र यौन हिंसामा पर्ने गरेको बताइन् ।

नेपालको अवस्था पनि फरक छैन । बालकविरुद्धका यौन हिंसाका घटना बढ्दो क्रममा भए पनि पीडितले उजुरी नगर्ने, उजुरी परे पनि प्रभावकारी अनुसन्धान नहुने अवस्था रहेको भट्टराईको भनाइ छ ।

नेपाल प्रहरीको साइबर ब्युरोको प्रतिवेदनअनुसार साइबर अपराधबाट देशभर ३ सय ५१ बालक र ४ सय २१ बालिका गरी ७ सय ७२ जना पीडित भएका छन् । कोशी प्रदेशमै मात्रै साइबर अपराधबाट ८ बालक र १८ बालिका गरी २६ जना पीडित भएका छन् ।

गत आर्थिक वर्षमा कोशी प्रदेशमा अप्राकृतिक मैथुनका ४, बाल यौन दुरुपयोगका १ सय२, बालविवाहका ८ र बालबालिकाविरुद्धका अन्य कसुर गरी जम्मा १ सय १९ वटा घटना दर्ता भएका छन् । बालबालिकामाथि हुने यौन दुर्व्यवहारको घटनामा कोशी प्रदेश देशमै पहिलो स्थानमा रहेको बताइएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यौन हिंसा महिला र बालिकामाथि मात्रै हुन्छ भन्ने सोच गलत भएको उल्लेख गर्दै बालक पनि पीडित हुने गरेको तथ्यांकले स्पष्ट देखाएको बताए । अनुसन्धान बिना कानुन बनाउने र बनेका कानुनको प्रभावकारी कार्यान्वयन नहुनु ठूलो समस्या भएको उनको भनाइ थियो ।

प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फुँयालले बालक हिंसाका घटना बढिरहेको र मानसिक समस्या भएका व्यक्तिबाट समेत बालक यौन हिंसामा पर्ने गरेको बताए । उनका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४१ जना बालबालिका यौन हिंसाबाट पीडित भएका छन् । गत वर्ष यो संख्या १ सय थियो ।

भीओसीका कार्यकारी निर्देशक कृष्ण थापाले २०५२ सालमा बाल यौन दुर्व्यवहारसम्बन्धी पहिलो उजुरी दर्ता गराउँदा २ जना पीडित बालकसँगै आफू पनि २ दिन थुनामा बस्नु परेको अनुभव सुनाए । पहिले बालकमाथि यौन दुर्व्यवहार हुन्छ भन्ने कुरा स्वीकार्न समाज हिच्किचाउने गरेको भए पनि अहिले विस्तारै सोचमा परिवर्तन आएको उनले बताए । उनका अनुसार यौन हिंसाबाट पीडित हुनेमध्ये करिब ५० प्रतिशत बालक छन् ।

उच्च सरकारी वकिल कार्यालय विराटनगरकी सहायक न्यायाधिवक्ता विजया नेपालले बालिकाको तुलनामा बालक पीडित भएको उजुरी निकै कम पर्ने बताइन् । सिविन विराटनगरका प्रमुख बासु अधिकारीले यौन हिंसामा परेका बालबालिकामा गम्भीर मानसिक समस्या देखिने गरेको बताए । गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्माले घरपरिवार र बालगृहभित्रै समेत बालबालिका हिंसाको शिकार हुने गरेको उल्लेख गरिन् ।

यता, बालअधिकार परिषद् अन्तर्गत बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले प्रदेशमा बालबालिका हराउने घटनासमेत बढिरहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ८ सय ६९ जना बालबालिका हराएकामा ७ सय ७७ जना फेला परे पनि ९२ जना अझै बेपत्ता छन् । जनगणनाअनुसार कोशी प्रदेशका ७७.२ प्रतिशत बालबालिका आमाबुवासँग बसिरहेका छन् भने बाँकी अन्यको संरक्षणमा छन् ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालक पनि यौन हिंसाका पीडित हुन सक्ने यथार्थ स्वीकार गर्दै कानुनको प्रभावकारी कार्यान्वयन, संवेदनशील अनुसन्धान र समाजको चेतनास्तरबिना समस्या झन् गहिरिँदै जाने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.