
पछिल्ला केही दिनयता नेपालको तराई-मधेशसहित देशभर चिसोको प्रकोप ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसोको प्रभाव केवल मानिसको हिँडडुलमा मात्र सीमित छैन, यसले यातायात र हवाई सेवालाई समेत नराम्ररी प्रभावित पारेको छ ।
सोमबार झापाको चन्द्रगढी विमानस्थलमा भिजिबिलिटी नपुग्दा दिउँसोसम्म उडान-अवतरण ठप्प हुनु यसकै एउटा ताजा उदाहरण हो । तर, उडान रोकिएर हुने प्राविधिक क्षतिभन्दा पनि डरलाग्दो पक्ष चिसोका कारण नागरिकको स्वास्थ्य र जीवनमा परिरहेको गम्भीर असर हो ।
बढ्दो ठिहीका कारण खासगरी बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा बढी प्रभावित भइरहेका छन् । रोग प्रतिरोधात्मक क्षमता कम हुने यो वर्गमा चिसोका कारण निमोनिया, दम, र स्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याहरू देखिएका छन् । हाल देशभरका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आउने बिरामीहरूमध्ये चिसोबाट प्रभावित भएकाहरूको सङ्ख्या उल्लेख्य छ । अस्पतालका बेडहरू मौसमी बिरामीले भरिन थाल्नुले स्थिति कति चुनौतीपूर्ण छ भन्ने स्पष्ट पार्छ ।
विशेषगरी विपन्न वर्गका लागि यो मौसम ‘मृत्युदूत’ जस्तै बनेर आउँछ । पर्याप्त न्यानो कपडाको अभाव, ओत लाग्ने बलियो छानो नहुनु र पोषणयुक्त खानपानको कमीले गर्दा सुकुम्वासी बस्ती र दलित समुदाय चिसोको प्रत्यक्ष निशानामा परेका छन् । पुस-माघको कठ्याङ्ग्रिँदो ठिहीमा पातलो लुगा र परालको भरमा रात काट्नुपर्ने बाध्यता आधुनिक समाजका लागि एउटा लज्जास्पद विषय हो ।
यस्तो बेला सरकार र सम्बन्धित निकायको सक्रियता कर्मकाण्डीमा मात्र सीमित हुनु हुँदैन । स्थानीय सरकारले आफ्नो क्षेत्रका अति विपन्न परिवारको पहिचान गरी तत्काल न्यानो कपडा, कम्बल र दाउराको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य चौकीहरूमा आकस्मिक औषधिको पर्याप्त मौज्दात राख्नुका साथै चिसोबाट बच्ने उपायबारे समुदायस्तरमा सचेतना फैलाउनु आवश्यक छ ।
त्यस्तै, सामाजिक संस्थाहरू र निजी क्षेत्रले पनि यस समयमा आफ्नो सामाजिक उत्तरदायित्वलाई सक्रिय बनाउनुपर्छ । केवल सहरका चोकहरूमा धुनी जगाएर मात्र दायित्व पूरा हुँदैन । वास्तविक पीडितको ढोकासम्म राहत र न्यानोपन पुग्नुपर्छ । सडकमा आश्रय लिइरहेका असहायहरूका लागि सुरक्षित आश्रयस्थल व्यवस्था गर्नु आजको प्राथमिक आवश्यकता हो ।
मौसम विज्ञान विभागका अनुसार चिसो अझै केही समय लम्बिने देखिन्छ । त्यसैले, ‘जाडो आएपछि ओत खोज्ने’ प्रवृत्ति त्यागेर सरकार, नागरिक समाज र विभिन्न निकायहरूले एकीकृत रूपमा उद्धार र राहतको काममा जुट्नुपर्छ । नागरिकको जीउज्यानको रक्षा गर्नु राज्यको पहिलो धर्म हो । कोही पनि नेपालीले न्यानो लुगा र ओत नपाएकै कारण ज्यान गुमाउनु नपरोस्, यसतर्फ सबैको गम्भीर ध्यान जानु जरुरी छ ।

























