मोरङ प्रहरीको मानवीय पहल : सहकर्मीको उपचारमा आर्थिक सहयोग

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १९:३०

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दीपक निरौला र प्रहरी सहायक हवल्दार साजन विकका बुवाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

निरौला विगत ३ वर्षदेखि मुखको क्यान्सरबाट पीडित छन् । उपचाररत अवस्थामा रहेका उनलाई ७९ हजार ८० रूपैयाँ आर्थिक सहयोग गरिएको छ ।

सहायक हवल्दार साजनका बुवा चतुरलाल विक पनि क्यान्सरबाट पीडित छन् । विकका उपचाररत बुवाको उपचारका लागि ५० हजार रूपैयाँ सहयोग जुटाइएको छ ।

असई निरौला र साजनका बुवा चतुरलालको उपचारमा आर्थिक कठिनाइ रहेको जानकारी प्राप्त भएपछि मोरङमा कार्यरत प्रहरी कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए । संकलित रकम मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले आइतबार हस्तान्तरण गरेका हुन् ।

एसपी कटवालले सहकर्मीको उपचारमा सहयोग गर्ने कदम सराहनीय भएको बताए । निरौलाको उपचारका लागि उनकी पत्नी गायत्री बस्नेत निरौलालाई ७९ हजार ८० रुपैयाँ हस्तान्तरण गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

उनका अनुसार साजन विकका बुवा चतुरलालको उपचारका लागि ५० हजार रकम उपलब्ध गराइएको छ । यस पहलले प्रहरी कर्मचारीबीच आपसी सहयोग र मानवीय सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जानकारी चुँडालले दिइन् ।

सहकर्मीहरूको सहयोग र सघन प्रयासले पीडित प्रहरी परिवारका लागि ठूलो राहत मिलेको एसपी कटवालको भनाइ छ । यसले समाजमा मानवीय संवेदना र एकताको महत्वलाई अझ बलियो बनाएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.