
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुरुङ समुदायको महान् पर्व तमु ल्होसार तथा कुलुङ जातिको प्रमुख चाड चाक्चाकुरले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
तमु ल्होसार तथा चाक्चाकुरको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गरेका छन् । उनले यस्ता पर्वहरूले नयाँ वर्षको शुभारम्भसँगै समाजमा शान्ति, सहकार्य र सकारात्मक ऊर्जाको सन्देश प्रवाह गर्ने बताए ।
मुख्यमन्त्री कार्कीका अनुसार तमु ल्होसारले आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको भावना जागृत गराउने पर्वका रूपमा महत्वपूर्ण स्थान राख्दछ । त्यस्तै, कुलुङ समुदायको चाक्चाकुर चाडले आफ्नो मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै पुस्तान्तरणमार्फत सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै आएको उनले उल्लेख गरेका छन् ।
विविधतायुक्त नेपाली समाजमा यस्ता मौलिक पर्वहरूले आपसी सहकार्य र स्नेहलाई मजबुत बनाउँदै समृद्धिको यात्रामा ठोस योगदान पुर्याइरहेको उनको भनाइ छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान सम्पन्न मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यही विविधताले नै नेपाली समाजको सांस्कृतिक गौरव र समृद्धिलाई अझ उचाइमा पुर्याएको बताए ।
कोशी प्रदेश सरकारले स्थापना कालदेखि नै विभिन्न समुदायका चाडपर्व, संस्कृति र परम्पराको संरक्षण तथा सम्प्रवर्धनलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उनले स्पष्ट पारेका छन् । मुख्यमन्त्री कार्कीले पर्वहरूको संरक्षण र प्रवर्धनले सबै समुदायको पहिचान, आस्था र जीवनशैलीलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
पर्वको उमंगसँगै आपसी सद्भाव, सहयोगी भावना र सहकार्यले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे । कोशी प्रदेश विविध संस्कृतिहरूको साझा फूलबारी भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्र रहेका विभिन्न समुदायका मौलिक पर्व, भाषा, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्धन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी दिए ।
तमु (गुरुङ) तथा कुलुङ समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक धरोहर र सामाजिक एकताले प्रदेशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको उनको धारणा छ । तमु ल्होसार र चाक्चाकुर दुवै पर्वले शान्ति, समृद्धि, आपसी भाइचारा र सकारात्मक ऊर्जा फैलाउने विश्वास मुख्यमन्त्री कार्कीको छ ।
























