चिसोले कठ्याङ्ग्रिएर एक वृद्धको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १६, बुधबार १४:४६
सांकेतिक तस्बिर

सिरहा । अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक जना वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का ६० वर्षीय शिवदयाल सदायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो। लामो समयदेखि मधुमेह र दम रोगबाट पीडित सदायको बुधबार बिहान आफ्नै घरमा मृत्यु भएको वडा सदस्य तनुकलाल महतोले जानकारी दिए ।

विपन्न परिवारका सदायको घरमा न्यानो कपडा र जाडो छल्ने राम्रो व्यवस्था नहुँदा चिसो सहन नसकेर ज्यान गएको वडा सदस्य महतोले बताए । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका सदायको मृत्युपछि परिवारमा अर्को संकट आइलागेको थियो । मृतकको अन्तिम संस्कारका लागि शव जलाउन दाउरा समेत नभएपछि नेपाली सेनाले दाउरा सहयोग गरेको छ ।

केही दिनदेखि तराईमा बाक्लो कुहिरो र चिसो हावाका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ । चिसो बढेसँगै विशेष गरी विपन्न र दलित बस्तीहरूमा न्यानो कपडा र आगो ताप्ने दाउराको चरम अभाव देखिएको छ । यसले गर्दा बालबालिका र वृद्धवृद्धाहरूको स्वास्थ्यमा गम्भीर जोखिम थपिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.