
इटहरी । पूर्वेली न्युज नामक अनलाइन पोर्टलका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहाललाई पितृवियोग परेको छ । उनका बुबा ६८ वर्षीय गोपीरमण दाहालको शनिबार राति निधन भएको हो ।
परिवारका अनुसार स्वर्गीय दाहाल पछिल्लो करिब २ वर्षदेखि मधुमेहबाट पीडित थिए । लामो समयदेखि उपचाररत रहँदा–रहँदै स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गएपछि शनिबार राति देहावसान भएको परिवारले जनाएको छ ।
स्वर्गीय गोपीरमण दाहालका २ छोरा सुरेशचन्द्र दाहाल र योगेश दाहाल तथा १ छोरी रहेका छन् । उनको आइतबार इटहरीस्थित बुढीगंगा–जमुना मुक्ति घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
दाहालको निधनले परिवारजनसहित शुभेच्छुक, आफन्त र सञ्चार क्षेत्रलाई समेत शोकमा डुबाएको छ।























