
झापा । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा बिहीबार राति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक मगरको मृत्यु भएको हो भने उनकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी छन्। ट्रकका चालक हाल फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ गइरहेको बा १६ च ४७४० नम्बरको जिपले ठक्कर दिँदा स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको हो। प्रहरीले जिप चालक मकवानपुर, थाहा–११ का ४३ वर्षीय चन्द्रबहादुर गोलेलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ।























