सांकेतिक तस्बिरझापा। झापाको बिर्तामोड नगरपालिका–५ जात्रुबारीमा पिकअप गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा परी स्थानीय ८१ वर्षीया श्रीमाया लिम्बूको ज्यान गएको हो।
प्रहरीका अनुसार दिउँसो करिब १२:५५ बजे जात्रुबारीस्थित भित्री सडक खण्डमा रहेको एक किराना पसलमा सामान लोड गरी ब्याक गर्ने क्रममा मे १ ज १८०४ नम्बरको पिकअपले पैदलयात्री लिम्बूलाई ठक्कर दिएको थियो। पिकअपको पछाडिको भागले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो १:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न पिकअप र चालक झापा बुद्धशान्ति गाउँपालिका–३ बस्ने ३१ वर्षीय हरिप्रसाद काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पिकअप र चालक दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।























