देशभर सरस्वतीको पूजा गरेर श्रीपञ्चमी मनाइँदै

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार ०६:२०

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदै छ ।

वसन्त पञ्चमीका नामले पनि चिनिने यस दिनलाई विद्या, बुद्धि, कला, साहित्य र संगीतसँग जोडिएको मौलिक पर्वका रूपमा लिइन्छ । बिहानैदेखि सरस्वती मन्दिरहरूमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा शुक्रबार विशेष रौनक छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको थिमीस्थित सरस्वतीखेल, काठमाडौंको विशालनगरस्थित नील सरस्वती, आर्यघाटको सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभू क्षेत्रलगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक, कलाकार, संगीतकर्मी तथा सर्वसाधारण श्रद्धालुहरू सरस्वतीको दर्शन गरी ज्ञान, विवेक र सिर्जनशीलताको कामना गर्दै पूजा गरिरहेका छन् । श्रीपञ्चमीलाई सरस्वती जयन्तीका रूपमा पनि लिने गरिन्छ ।

धार्मिक विश्वासअनुसार श्रीपञ्चमीकै दिन सरस्वतीको प्राकट्य भएको मानिन्छ । वैदिककालदेखि नै सरस्वतीलाई विद्याकी अधिष्ठात्री देवीका रूपमा पूजा गर्ने परम्परा चलिआएको छ । यही मान्यताका कारण श्रीपञ्चमीका दिनलाई विशेष गरी शिक्षा र ज्ञानसँग सम्बन्धित कर्मलाई शुभ मानिन्छ ।

यसै अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा परम्परागत ‘वसन्त श्रवण’ कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रपतिबाट वसन्त श्रवण गरिने चलन रहँदै आएको छ ।

वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरू तथा अन्य गन्यमान्यहरूको सहभागिता रहने परम्परा छ । वसन्त श्रवणलाई राजकीय तथा सांस्कृतिक परम्पराको निरन्तरतासँग जोडेर हेरिन्छ ।

श्रीपञ्चमीका दिन बालबालिकाको शिक्षारम्भ गराउने प्रचलन व्यापक छ । अक्षरारम्भका रूपमा चिनिने यो संस्कारमा साना बालबालिकालाई पहिलोपटक अक्षर लेख्न सिकाइन्छ ।

धेरै विद्यालय तथा शैक्षिक संस्थाहरूले श्रीपञ्चमीकै दिन सरस्वती पूजा, अक्षरारम्भ र सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । साथै, शिशुको नाक र कान छेडाउने संस्कार पनि शुभ मानिने भएकाले विभिन्न स्थानमा यस्तो कर्म गरिएको देखिन्छ ।

संगीत, नृत्य, चित्रकला तथा अन्य सिर्जनात्मक क्षेत्रमा लाग्नेहरूले पनि श्रीपञ्चमीलाई विशेष महत्व दिन्छन् । श्रीपञ्चमीमा संगीत प्रशिक्षणको सुरुवात गर्दा राम्रो हुने विश्वास रहिआएको छ ।

त्यसैले गुरुबाट दीक्षा लिने, नयाँ वाद्ययन्त्र प्रयोगको आरम्भ गर्ने र कलासम्बन्धी अभ्यास सुरु गर्ने परम्परा छ । ज्ञानका स्रोत मानिने पुस्तक, कापी–कलमसँगै हार्मोनियम, तबला, बाँसुरीजस्ता वाद्ययन्त्र तथा चित्रकलाका रंग र साधनलाई समेत सरस्वतीको प्रतीक मानेर पूजा गर्ने चलन छ ।

यस पर्वलाई ज्ञान र विवेकको उज्यालोसँग जोडिन्छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा हरियाली बढ्ने, फूल फुल्ने र नयाँ ऊर्जा सञ्चार हुने समय भएकाले पनि वसन्त पञ्चमीलाई सकारात्मक परिवर्तन र नयाँ सुरुवातको प्रतीकका रूपमा लिने गरिन्छ । यही कारण सरस्वती पूजाको दिन अध्ययन, सिर्जना र आत्मविकासका लागि विशेष मानिन्छ ।

श्रीपञ्चमी धार्मिक कर्ममा सीमित नभएर सामाजिक र सांस्कृतिक जीवनसँग गाँसिएको पर्व हो । पुस्तौँदेखि चलिआएको परम्पराले ज्ञानप्रतिको सम्मान, गुरु–शिष्य परम्पराको निरन्तरता र सिर्जनशील संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.