
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पहिलो पटक आयोजना गर्न लागेको ‘फिफा महिला च्याम्पियन्स कप’ को पुरस्कार राशि सार्वजनिक गरेको छ। सन् २०२६ मा हुने यस उद्घाटन प्रतियोगिताको विजेताले कीर्तिमानी पुरस्कार पाउने भएका छन्।
फिफाले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, प्रतियोगिताको उपाधि जित्ने टोलीले २३ लाख अमेरिकी डलर (करिब ३० करोड ५० लाख नेपाली रुपैयाँ) हात पार्नेछ। महिला क्लब फुटबलको इतिहासमा यो अहिलेसम्मकै ठुलो पुरस्कार राशि हो।
प्रतियोगिताको उपविजेताले १० लाख डलर प्राप्त गर्ने फिफाले जनाएको छ। त्यस्तै, सेमिफाइनलबाट बाहिरिने दुई टोलीले जनही २ लाख डलर पाउनेछन्। पहिलो र दोस्रो चरणबाट बाहिरिएका न्युजिल्यान्डको अकल्याण्ड युनाइटेड र चीनको वुहान जियाङ्दाले भने १ लाख डलर प्राप्त गरेका छन्।
लन्डनमा आयोजना हुने यस प्रतियोगिताको सेमिफाइनल खेलहरू आगामी जनवरी २८ मा हुनेछन्। पहिलो सेमिफाइनलमा अमेरिकाको गोथम एफसी र ब्राजिलको कोरिन्थियन्स भिड्नेछन् भने अर्को सेमिफाइनलमा इंग्ल्यान्डको आर्सनल र मोरक्कोको एएसएफएआरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल फेब्रुअरी १ मा आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिनेछ।
फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले महिला क्लब फुटबलमा लगानी बढाउने र यसको स्तरलाई माथि उठाउने योजना अन्तर्गत यो ऐतिहासिक पुरस्कार राशिको घोषणा गरिएको बताए। उनले कुल ४० लाख डलरको पुरस्कार प्याकेजले महिला खेलाडी र क्लबहरूलाई थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।



















