
विराटनगर । आफूलाई पुरानो राजनीतिक प्रणालीको विकल्प, परिवर्तनको प्रतीक र नयाँ राजनीतिक संस्कृतिको संवाहकका रूपमा प्रस्तुत गर्दै आएका बालेन्द्र साह (बालेन) पछिल्लो समय भने आफ्नै दाबीको सबैभन्दा ठूलो विरोधाभास बनेर उभिएका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शनिबार साँझ कुनै पूर्वसूचना बिना ‘सुटुक्क’ काठमाडौं प्रस्थान गरेपछि उनीमाथि उठिरहेको आलोचना झन् तीव्र बनेको छ । धनकुटा हुँदै विराटनगर आइपुगेका बालेन विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको जहाजमार्फत साँझ करिब ६ः३० बजे काठमाडौं उडेका हुन् ।
उनको टिकट साँझ ५ः१५ बजेकै भए पनि जहाज ढिला उडेकाले करिब सवा घण्टा ढिलाइ भएको सुरक्षा स्रोतले जनाएको छ । काठमाडौं जानुअघि भने उनले विमानस्थल नजिकै रहेको होटल पर्पल हेजमा केही कार्यकर्ता र उम्मेदवारसँग करिब १ घण्टा छलफल गरेका थिए । तर, त्यो छलफलको विषय के थियो, किन अचानक काठमाडौं जानुपर्ने भयो भन्नेबारे न पार्टीले स्पष्ट गरेको छ, न त स्वयं बालेनले नै सार्वजनिक रूपमा केही बोलेका छन् ।
काठमाडौं जाने कुरा योजनाबद्ध रूपमा गोप्य राखिएको थियो । पूर्वनिर्धारित निर्वाचन लक्षित कार्यक्रमहरू एकपछि अर्को रद्द गरिए । धनकुटा र पाख्रीबासका कार्यक्रम स्थगित हुँदा पनि कार्यकर्ता र मतदातालाई वास्तविक कारण जानकारी दिइएन । स्रोतका अनुसार विराटनगरमा आयोजना गरिएको भनिएको आमसभामा सहभागी हुन ढिला हुने बहाना बनाउँदै धनकुटाबाट आएर बालेन काठमाडौं हानिएका हुन् । जबकि वास्तविकतामा विराटनगरमा कुनै आमसभा नै तय गरिएको थिएन ।
शनिबार दिउँसो बालेन धनकुटा सदरमुकाम पुगेका थिए । भीमनारायण चोकदेखि मदन चोकसम्म पैदल हिँड्दै मतदाता र समर्थकसँग भेटघाट गर्ने कार्यक्रम तय भए पनि उनी गाडीबाट बाहिर निस्किएनन् । सडक छेउमा घण्टौँ कुर्दा पनि बालेन गाडीबाट नओर्लिएपछि समर्थकहरू निराश र खिन्न बने ।
कार्यव्यस्तताको कारण देखाउँदै उनले गाडीको झ्यालबाट केही बेर हात मिलाएर अगाडि बढेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसअघि भने हिलेमा केही समय पैदल हिँड्दै समर्थकसँग भेटेको भन्दै रास्वपाले आंशिक सफाइ दिएको छ ।
धनकुटा जिल्ला पार्टीले केही दिनदेखि बालेनको आगमनलाई ठूलो रूपमा प्रचार गरेको थियो । शनिबार बिहान १० बजेदेखि नै कार्यक्रम हुने भन्दै व्यापक प्रचारप्रसार गरिएको थियो । तर, अन्तिम समयमा सबै कार्यक्रम रद्द भए ।
रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालले विराटनगरमा ‘काम विशेष’ परेकाले धनकुटाको कार्यक्रम स्थगन गरिएको दाबी गरे पनि विराटनगरमा कुनै आमसभा नभएको तथ्य बाहिर आएपछि पार्टीको भनाइ नै प्रश्नको घेरामा परेको छ । अध्यक्ष दाहालले बालेनले पुनः धनकुटा आउने प्रतिबद्धता जनाएको बताएका छन् । तर, कार्यकर्तामा भने विश्वासभन्दा बढी असन्तोष देखिन्छ ।
बालेनको अचानक काठमाडौं प्रस्थानको पृष्ठभूमिमा पछिल्लो समय चर्किएको विलासी गाडी विवाद केन्द्रमा छ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका बालेनले प्रयोग गरिरहेको महँगो ‘ल्यान्ड रोभर डिफेन्डर’ गाडीले उनको राजनीतिक छवि नै चुनौतीमा पारेको छ । पुराना राजनीतिक शक्तिहरूले देश लुटेर गरिब बनाएको आरोप लगाउँदै आएका बालेन स्वयं करोडौँ मूल्य पर्ने गाडी प्रयोग गर्दै हिँड्नु कत्तिको नैतिक हो भन्ने प्रश्न सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उठिरहेको छ ।
विवाद चर्किँदै जाँदा पनि बालेनले मिडियासँग खुलेर बोल्न सकेका छैनन् । न त उनले आम नागरिकबाट उठेका प्रश्नको स्पष्ट जवाफ नै दिएका छन् । आलोचना सामना गर्नुभन्दा भाग्ने, कार्यक्रम रद्द गर्ने र ‘सुटुक्क’ हिँड्ने उनको शैलीले वैकल्पिक राजनीतिमाथि नै अविश्वास बढाएको विश्लेषकहरूको निष्कर्ष छ । सामाजिक सञ्जालमा भने बालेनका समर्थकहरू प्रश्न उठाउनेहरूलाई अपशब्द प्रयोग गरेर गाली गर्ने, आलोचनालाई ‘पुरानो शक्तिको षड्यन्त्र’ भनेर टार्ने प्रयासमा देखिएका छन् ।
विश्लेषकहरूका अनुसार उद्योगी कमल मालपानीले चुनावी प्रचारका लागि उपलब्ध गराएको भनिएको गाडीले बालेनको वास्तविक राजनीतिक चरित्र उजागर गरेको छ । ‘वैकल्पिक शक्ति’को नारा र व्यवहारबीच गहिरो खाडल देखिएको उनीहरूको भनाइ छ । पारदर्शिता, सादगी र जवाफदेहिताको कुरा गर्ने नेता स्वयं विलासी सुविधामा रमाउँदा जनतामा गलत सन्देश गएको उनीहरू बताउँछन् ।
झापा क्षेत्र नम्बर ५ मा बालेनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छ । उक्त क्षेत्रमा चुनावी प्रचारका क्रममा प्रयोग गरिएको बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो ‘ल्यान्ड रोभर डिफेन्डर’ गाडी आफैंमा चर्चाको विषय बनेको छ । जगुआर ल्यान्ड रोभर लिमिटेडको उत्पादन उक्त गाडी र ‘वैकल्पिक राजनीति’ बीचको विरोधाभासले चुनावी बहसलाई नै अर्कै मोडमा पुर्याएको छ । संयोगवश, ओली पनि शुक्रबार विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किएका थिए ।

‘अरू नेताले देश लुटे’ भन्ने बालेनकै दाबीमाथि अहिले नैतिकताको प्रश्न उठिरहेको छ । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने नेताको यस्तो रवाफ सुहाउँदो नभएको टिप्पणी विश्लेषकहरूले गरिरहेका छन् । उनीहरूका अनुसार आलोचनाबाट भाग्नु होइन, जवाफ दिन सक्ने साहस नै नयाँ राजनीतिको पहिलो सर्त हो । तर, बालेनको हालको व्यवहारले त्यो साहस नभएर असहज प्रश्नबाट पन्छिने प्रवृत्ति मात्रै देखाएको छ ।
विवादको भुंग्रोमा परेका बालेन काठमाडौं त पुगे । तर, उनको राजनीतिक यात्रामा उठेको प्रश्न भने अझै यथावत् छ । वैकल्पिक राजनीति साँच्चै व्यवहारमा देखिने हो कि नारामै सीमित रहने भन्ने आमचासोको विषय बनेको छ ।
विलासी गाडी विवादमा फसे बालेन साह : ‘वैकल्पिक शक्ति’को दाबी र व्यवहारबीच विरोधाभास
























