विलासी गाडी विवादमा फसे बालेन साह : ‘वैकल्पिक शक्ति’को दाबी र व्यवहारबीच विरोधाभास

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १५:२८

विराटनगर । आफूलाई पुरानो राजनीतिक प्रणालीको विकल्प र परिवर्तनको प्रतीकको रूपमा प्रस्तुत गर्दै बालेन साह (बालेन्द्र)ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका निवर्तमान मेयार बालेन पछिल्लो समय विलासी गाडी विवादमा नराम्ररी फसेका छन् । उक्त विवादले ‘वैकल्पिक शक्ति’को दाबी र व्यवहारबीचको विरोधाभासलाई सतहमा ल्याइदिएको छ ।

पछिल्लो समय उनले प्रयोग गर्दै आएको भनिएको महँगो ‘ल्यान्ड रोभर डिफेन्डर’ गाडीले उनको राजनीतिक दाबी र व्यवहारबीचको गहिरो विरोधाभास उजागर गरिदिएको हो । ‘पुराना नेताहरूले देखाएका विलासिता र पहुँचविरोधी शैलीका लागि आलोचना गर्ने नेता आफूले अरूबाट प्राप्त विलासी सुविधा प्रयोग गर्नु कत्तिको न्यायसंगत हो ?’ भनेर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चर्किएको छ ।

तर, बालेन र उनका समर्थकले यो विवादलाई भने सामना गर्न सकेको देखिँदैन । उल्टै यति महँगो र ‘अवैध हिसाब’ले लिएको भनिएको गाडीका विषयमा प्रश्न उठाउनेलाई नै अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने काम भइरहेको छ । अर्थात्, यति ठूलो विवादको भुंग्रोमा फसेका बालेनलाई ‘देवत्वकरण’ गर्ने काम भइरहेको छ । तर, जनमानसबाट उठेको प्रश्नको उचित जवाफ दिनबाट बालेन चुकिरहेका छन् ।

समर्थकको भिडले त उनले गरेका सबै गलत हर्कतको ढाकछोप गर्ने काम मात्रै गरिरहेको छ । बालेनको शैली र उनका समर्थकले गरिरहेको ‘देवत्वकरण’ले भोलि देशलाई कता पुर्याउँछ भन्ने चिन्ता राजनीतिक विश्लेषकहरूले गरिरहेका छन् । उनीहरु उद्योगी कमल मालपानीले चुनावी प्रचारको लागि उपलब्ध गराएको गाडीले साहको ‘नयाँ र वैकल्पिक शक्ति’ भन्ने छविलाई चुनौती दिएको बताउँछन् । यातायात व्यवस्था कार्यालयको तथ्यांक अनुसार गाडी रुपन्देहीको तिलोत्तमास्थित त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लिको नाममा दर्ता छ ।

कमल मालपानीले चुनावी प्रचारका लागि गाडी उपलब्ध गराएको पुष्टि गरिसकेका छन् । यसले पारदर्शिता र स्वतन्त्र निर्णयको सवाल उठाउँछ । ‘अरु नेताले लुटेर देशलाई गरिब र कंगाल बनाए’ भन्ने आरोप लगाउने बालेनकै पारदर्शितामा प्रश्न उठिरहेको छ । उनको चौतर्फी आलोचना भइरहेको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सुरक्षा जोखिम र चुनावी माहोललाई मध्यनजर गर्दै बालेनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए । ‘अरुको भन्दा बालेनलाई अलि बढी नै चुनौती देखिन्छ । त्यही हिसाबले सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने ।

तर, नागरिकहरुले भने आफूलाई भावी प्रधानमन्त्री दाबी गर्ने बालेनको हर्कत पटक्कै मन पराएका छैनन् । विश्लेषकहरूले सुरक्षा आवश्यकता र विलासी गाडीको प्रयोगबीचको सम्बन्धमा आलोचनात्मक प्रश्न उठाइरहेका छन् । राजनीतिक विश्लेषकहरूको तर्क छ, ‘सुरक्षा आवश्यक थियो भने साधारण गाडीमा पनि गर्न सकिन्थ्यो । विलासी गाडीले राजनीतिक सन्देशलाई प्रभावित गर्छ ।’

बालेनले विगतमा पुराना दलहरूको विलासिता, पहुँच र शक्ति दुरुपयोगको आलोचना गर्दै आफूलाई सादगी र इमानदार नेतृत्वको विकल्प प्रस्तुत गर्दै आएका थिए । तर, अरूबाट प्राप्त विलासी सुविधा प्रयोगले उनलाई मूल्यांकनको परीक्षामा उभ्याएको छ ।

‘वैकल्पिक शक्ति’का दाबीकर्ता नेताले पारदर्शिता र नैतिकता कायम राख्न नसक्दा जनतामाथि विश्वासघात हुने टिप्पणी सार्वजनिक रुपमा उठ्न थालेको छ । ‘कानुनी दृष्टिले विवाद नभए पनि राजनीतिक नैतिकताको प्रश्न अनुत्तरित छ,’ विश्लेषकहरु भन्छन् ।

सामाजिक सञ्जालमा ‘पुराना नेताहरूले गरेको विलासिताको आलोचना गर्नु मात्रै पर्याप्त छैन । तर, आफूले देखाएको व्यवहार कति फरक छ भन्ने मूल्यांकन पनि अब जनताको हातमा छ’ भनेर टिप्पणी भइरहेको छ । राजनीतिक दल र उम्मेदवारले अब आलोचना गर्ने शैलीमा मात्रै नभएर व्यवहारमा पनि फरक देखाउन सक्षम हुनुपर्ने सुझाव पनि आइरहेको छ ।

तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङजस्ता जिल्लामा चुनावी दौडाहामा बालेनको गाडी प्रयोग राजनीतिक बहसको केन्द्रबिन्दु बनेको छ । यसले सुरक्षा वा सुविधा मात्रको विषय नभएर वैकल्पिक शक्तिको दाबी र वास्तविक व्यवहारबीचको विसंगति उजागर गरेको छ ।

चुनावी प्रचारका लागि बालेनले प्रयोग गरेको गाडी झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पनि चर्चामा आएको छ । बागमती प्रदेश दर्ता नम्बर ०१–०३३ च ४३४३ को कालो ‘ल्यान्ड रोभर डिफेन्डर’ जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन हो । जसको नेपाली मूल्य ८ करोड रुपैयाँ बताइन्छ । तर, नेपालमा डिफेन्डर बिक्री वितरण गर्दै आएको कायरोस इन्टरनेसनल प्रा.लिले वास्तविक मूल्य ४ करोड २९ लाख रहेको जानकारी दिएको छ ।

त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लिको नाममा दर्ता गाडी मालपानीको स्वामित्वमा छ । कमल मालपानी उद्योगी हुन् । जसको लगानी सुर्तीजन्य वस्तु, चाउचाउ उद्योग, पाँचतारे होटल ‘सफ्रोन सीके’ र अन्य व्यवसायमा समेत रहेको छ । केही वर्षअघि उनलाई मानपदवी जनसेवाश्री पदकले सम्मानित गरिएको थियो ।

तर, मालपानीविरुद्ध कर छली र नक्कली भ्याटको कारोबारमा मुद्दा दायर गरिएको जानकारी छ । २०७६ पुसमा राजस्व अनुसन्धान विभागले श्रीराम टोबाको उद्योग प्रा.लिविरुद्ध १० करोड ७३ लाख बिगो दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यो मुद्दाको स्थिति हालसम्म अस्पष्ट छ ।

चुनावी प्रचारका लागि बालेनलाई गाडी उपलब्ध गराएपछि मालपानी फेरि चर्चामा आएका छन् । यसले ‘चुनावी सुरक्षा र सुविधा मात्रको नाममा यस्तो महँगो गाडीको प्रयोग वैध र नैतिक छ कि छैन ? भन्ने प्रश्न राजनीतिकर्मी र उद्योगीबीचको सन्दर्भमा उठिरहेको छ ।

विश्लेषकहरुका अनुसार बालेनको गाडी विवाद सुरक्षा वा विलासिता मात्रको विषय नभएर नयाँ राजनीतिक नेतृत्वको मूल्य, नैतिक मापदण्ड, र जनविश्वासको परीक्षण पनि हो । पुराना शैलीविरुद्धको राजनीतिक प्रतिवाद मात्रै नभएर नेतृत्वको व्यवहार र पारदर्शितामा आधारित मूल्यांकन अब मतदाताको हातमा आएको उनीहरुको भनाइ छ ।

‘के बालेनले प्रस्तुत गरेको ‘वैकल्पिक शक्ति’ र ‘नयाँ राजनीति’ प्रचार व्यवहारसँग मेल खान्छ कि छैन ? भन्ने जवाफ सामाजिक र राजनीतिक वृत्तले खोजिरहेको पाइन्छ । यो प्रश्नको जवाफले आगामी चुनाव र वैकल्पिक राजनीतिक अभ्यासको दिशामा ठूलो असर पार्ने विश्लेषण गरिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×