चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण पूरा

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार ०९:३६
चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण पूरा

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाको दोस्रो चरणको काम सम्पन्न भएको छ । निकुञ्ज प्रशासनका अनुसार दोस्रो भाग अन्तर्गतका क्षेत्रहरूमा जडान गरिएका स्वचालित क्यामेराहरू निकाल्ने काम सोमबारदेखि सुरु गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले दोस्रो चरणको गणना सकिएसँगै क्यामेरा संकलनको काम भइरहेको जानकारी दिए । मंगलबार (आज) देखि क्यामेरा उठाउन सुरु गरेका हुने र दुई देखि तीन दिनभित्र सबै क्यामेरा निकालिसक्ने लक्ष्य राखेको उनले बताए ।

दोस्रो चरणको गणनाका लागि निकुञ्जले १३ वटा क्याम्प खडा गरी १५० जना तालिमप्राप्त गणकहरू परिचालन गरेको थियो । यसअन्तर्गत सौराहा, खगेन्द्रमल्ली, लोथर, प्रतापपुर, बोटे सिमर, सोमेश्वर, बगई, अम्बुवादेखि सिकारी बाससम्मको क्षेत्रलाई ३३६ वटा ग्रिडमा विभाजन गरेर गणना गरिएको थियो । प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिएको थियो ।

चितवन–पर्सा ब्लकलाई जम्मा ९५८ ग्रिडमा विभाजन गरिएको छ। अब तेस्रो चरणअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको बाँकी क्षेत्रमा क्यामेरा राखिनेछ । दोस्रो चरणबाट निकालिएका क्यामेराहरू नै तेस्रो चरणको गणनामा प्रयोग गरिने सूचना अधिकारी मगरले बताए । हरेक भागमा करिब दुई साता क्यामेरा राखेर बाघको गतिविधि रेकर्ड गर्ने गरिएको छ ।

बाघ गणनाका लागि २ वर्ग किलोमिटरको एउटा ग्रिड बनाई बाघ ओहोरदोहोर गर्ने मुख्य बाटोहरूमा क्यामेरा जडान गरिन्छ । क्यामेराले खिचेका तस्बिरहरूमा बाघको शरीरमा हुने ‘पाटा’ को अध्ययन गरिन्छ । मानिसको औँठा छाप जस्तै बाघको पाटा पनि एक अर्कासँग नमिल्ने हुनाले सोही आधारमा संख्या छुट्टाइन्छ ।

सन् २०२२ मा गरिएको पछिल्लो गणना अनुसार नेपालमा वयस्क बाघको संख्या ३५५ पुगेको थियो । जसमा चितवनमा १२८, पर्सामा ४१, बर्दियामा १२५, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ वटा बाघ फेला परेका थिए ।

यस पटकको गणनामा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवक र संरक्षण साझेदार संस्थाहरूको सहभागिता रहेको छ । तीन महिनासम्म चल्ने यो गणना सकिएपछि खिचिएका तस्बिरहरूको प्राविधिक विश्लेषण गरी अन्तिम नतिजा सार्वजनिक गरिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.