सांकेतिक तस्बिरमेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
गत माघ ११ गते दिउँसो १:३० बजे काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–७ का ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी ५४ वर्षीया श्रीमती कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन्।
टाउको र शरीरमा गम्भीर चोट लागेकी भण्डारीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा बुधबार (माघ १४ गते) बिहान १०:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर–६ का ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।























