
चितवन । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौँतर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार (आज) बिहान ३ः१० बजेतिर भरतपुर महानगरपालिका–२९ स्थित सडकमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको अवस्था मध्यम छ भने २८ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मौला कालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेजमा १३ जना, नयाँ मेडिकल कलेजमा ४ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको छ ।
दुर्घटनाको समयमा बस विपिन चौधरीले चलाइरहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























