आईसीसी एसिया सम्मेलन नेपालमा

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १७, शनिबार ०६:१५

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया क्षेत्रका सदस्य राष्ट्रहरूको महत्वपूर्ण सम्मेलन काठमाडौंमा हुने औपचारिक जानकारी दिएको हो ।

क्यानका अनुसार सम्मेलन आउँदो वैशाख ३ र ४ गते काठमाडौंमा हुनेछ । २ दिने सम्मेलनमा आईसीसी एसियामा आबद्ध सदस्य देशका शीर्ष पदाधिकारी, क्रिकेट प्रशासक र आधिकारिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । यस सम्मेलनलाई एसिया क्षेत्रमा क्रिकेटको भावी दिशा तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।

सम्मेलनमा एसिया क्षेत्रभित्र क्रिकेटको विकासलाई तीव्र बनाउने रणनीतिक प्राथमिकता, विभिन्न विकास कार्यक्रमहरूको प्रभावकारिता, क्रिकेट क्षेत्र र सुशासनका विषय तथा आगामी वर्षहरूका दीर्घकालीन योजनामाथि विस्तृत छलफल हुने क्यानले जनाएको छ । विशेषगरी उदाउँदा क्रिकेट राष्ट्रहरूमा पूर्वाधार, प्रशिक्षक विकास, महिला तथा युवा क्रिकेट विस्तार र प्रतिस्पर्धात्मक संरचना सुदृढीकरणका विषय प्रमुख एजेन्डाका रूपमा रहने अपेक्षा गरिएको छ ।

नेपालमा एसिया क्षेत्रीय सम्मेलन आयोजना हुनु नेपाली क्रिकेटका लागि कूटनीतिक र संस्थागत दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको उपस्थिति मजबुत बन्दै गएको सन्दर्भमा यस्तो सम्मेलन आयोजनाले नेपाललाई एसियाली क्रिकेट प्रशासनको केन्द्रमा उभ्याउने विश्वास क्यानले व्यक्त गरेको छ ।

सम्मेलनमार्फत आईसीसी एसिया र सदस्य राष्ट्रहरूबीच समन्वय थप सुदृढ हुने, नीतिगत निर्णयहरूमा साझा समझदारी बन्ने र एसिया क्षेत्रमा क्रिकेटको दिगो विकासका लागि नयाँ पहलहरू अघि बढ्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×