
विराटनगर । उत्तरदायी पत्रकारिताको उद्देश्यसहित अघि बढिरहेको अनलाइन समाचार पोर्टल देश सञ्चार डट कम नवौं वर्षमा प्रवेश गरेको छ ।
अनलाइनले शनिबार आठौं वार्षिकोत्सव मनाएको छ । त्यस अवसर पारेर विराटनगरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले अनलाइन र जिम्मेवार पत्रकारिताको उचाइमा नयाँ पहिचानलाई स्थापित गर्न देश सञ्चार सफल भएको बताए । पत्रकार महासंघ मोरङको हलमा आयोजित कार्यक्रममा उपाध्यक्ष अधिकारीले पछिल्लो समय नेपाली अनलाइनहरु व्यवस्थित र जिम्मेवार भएर बढिरहेको उल्लेख गरे ।
पत्रकारिताको अहम मुद्धालाई साथ लिँदै अघि बढेको देश सञ्चारले आमनागरिकको जनभावना समेटेर सत्यतथ्य एवं निष्पक्ष समाचार प्रेषित गर्दै आएको उनले बताए । कार्यक्रमलाई देश सञ्चारका अध्यक्ष रविन दाहालले भिडियो ‘क्रन्फ्रेन्स’बाट सम्बोधन गरेका थिए ।
दाहालले देश सञ्चार आमपाठकसँगै सञ्चार क्षेत्रमा विगत ८ वर्षबाट स्थापित हुँदै आएको बताए । यो अनलाइन २०७४ सालबाट सञ्चालनमा आएको हो ।
कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेश महासचिव हिमाकुमारी चेम्जोङ, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस युनियनका पूर्वउपाध्यक्ष शेखर रेग्मी, प्रेस चौतारी मोरङ अध्यक्ष चिना थापा, प्रेस युनियन मोरङ अध्यक्ष वेराज पौडैललगायतको उपस्थिति थियो ।























