न्यायालय र न्यायाधीश लक्षित टिप्पणीमा प्रधान न्यायाधीश : ‘हुर्मत लिने छुट कसैलाई छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २०, आइतबार १५:२३

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमबाट न्यायालय र न्यायाधीशको प्रतिष्ठामाथि भइरहेको निरन्तर प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आइतबार सर्वोच्च अदालतमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालतको हुर्मत लिने काम सह्य नहुने चेतावनी दिए।

तथ्यहीन आलोचना र अराजकताको पराकाष्ठा प्रधान न्यायाधीश राउतले सामाजिक सञ्जालहरूमा न्यायाधीशहरूलाई लक्षित गरी अराजक र अश्लील सामग्री सम्प्रेषण भइरहेको भन्दै यस्तो प्रवृत्तिले न्यायपालिकाको गरिमा घटाउने बताए। ‘लोकतन्त्र र बहुलवादमा तथ्यमा आधारित स्वच्छ आलोचनाको हामी सधैँ स्वागत गर्छौँ र त्यसबाट आफूलाई सच्याउन तयार छौँ,’ उनले भने, ‘तर बदनियत राखेर वा प्रतिशोध साँधेर अदालतप्रति नै घृणा फैलाउने छुट कसैलाई छैन।’

Advertisement

विचाराधीन मुद्दामा मिडियाको प्रभाव मिडियाले समेत कतिपय विचाराधीन मुद्दाका सन्दर्भमा भ्रम सिर्जना हुने गरी समाचार सम्प्रेषण गरेकोमा न्यायालयको गुनासो छ। प्रधान न्यायाधीशले न्यायाधीश निर्भीक र सुरक्षित भएमा मात्र नागरिकका हक अधिकार सुरक्षित हुने दाबी गरे। न्यायाधीश डराएको खण्डमा राज्यको चौथो अङ्ग (प्रेस) ले समेत आफ्ना अधिकार स्वतन्त्र रूपमा उपभोग गर्न नसक्ने उनको जिकिर थियो।

न्यायालयको कार्यविधि र त्रुटि सच्याउने बाटो अदालतले सधैँ विधि, प्रक्रिया, तथ्य र प्रमाणका आधारमा मात्र फैसला गर्ने प्रस्ट पार्दै उनले भावना वा भीडको पछि लागेर न्याय सम्पादन नहुने बताए। “अदालतमा जे पायो त्यही गर्न पाइँदैन,” उनले थपे, ‘यदि कुनै फैसलामा त्रुटि भएको छ भने त्यसलाई सच्याउन संविधानले नै उच्च र सर्वोच्च अदालतको तहगत व्यवस्था गरेको छ।’

अदालतप्रति नागरिकको विश्वास खलबल्याउने प्रयास भएमा समग्र लोकतन्त्र र नागरिक सर्वोच्चता नै सङ्कटमा पर्ने भन्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे। कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललगायत अन्य न्यायाधीशहरूको समेत उपस्थिति थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.