झापा गोल्डकपको खेल तालिका सार्वजनिक: उद्घाटनमा झापा ११ र नेपाल पुलिस भिड्ने

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १२:२५

बिर्तामोड। एक्स्ट्रिम सातौँ झापा गोल्डकप ‘विनोद बस्नेत स्मृति संस्करण’को खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फत आगामी माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको हो।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। माघ २५ गतेको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए। यस्तै, माघ २६ गतेदेखि सुरु हुने क्वार्टर फाइनल खेलहरूमा सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब, पोखराको लालीगुराँस एसोसिएसन, एपिएफ फुटबल क्लब, भुटानको रोयल थिम्पु कलेज, मछिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको सेमिफाइनल खेलहरू फागुन १ र २ गते हुनेछन् भने उपाधि भिडन्त फागुन ४ गतेका लागि तय गरिएको महासचिव बुद्ध तामाङले जानकारी दिए। यस पटकको विजेताले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले बताए।

खेलाडीहरूका लागि व्यक्तिगत पुरस्कारको पनि आकर्षक व्यवस्था गरिएको छ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले नगद २५ हजार पाउनेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए।

यस वर्ष दर्शकका लागि पनि विशेष आकर्षण थपिएको छ। महेन्द्ररत्न स्टोर्सको समन्वयमा हिम इलेक्ट्रोनिक प्रालिले प्रत्येक दिन एक जना भाग्यशाली दर्शकलाई ३२ इन्चको एलइडी टिभी उपलब्ध गराउने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×