
काठमाडौं । आईसीसी टी–२० विश्वकपको वार्मअप खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै आत्मविश्वासपूर्ण सुरुवात गरेको छ ।
भारतको एमए चिदाबरम स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको अविजित साझेदारी निर्णायक बन्यो ।
आरिफले ६१ रन बनाए भने दीपेन्द्रले ५० रन जोड्दै टोलीलाई सहज जित दिलाए । यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए भने दीपेन्द्र ऐरीले १ विकेट झारे ।
नेपालले विश्वकप तयारीअन्तर्गत अर्को वार्मअप खेल बिहीबार क्यानडासँग खेल्नेछ ।



















