
विराटनगर । प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा उपविजेता भएको डनबस्को स्कुलका खेलाडीलाई एक विशेष कार्यक्रमका बीच पुरस्कृत तथा सम्मान गरिएको छ ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको प्रतियोगितामा डनबस्को स्कुल उपविजेता भएको थियो । विद्यालयमा आयोजित कार्यक्रममा फुटबल खेलाडीलाई ट्रयाकसुट प्रदान गर्दै सम्मान गरियो ।
त्यस्तै, विद्यालयले आन्तरिक रूपमा आयोजना गरेको स्पोर्ट्स मिटका विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरका ग्रिनल्याण्ड कलेजले डनबस्को स्कुलका खेलाडीलाई जर्सी प्रदान गर्यो ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल अमृत राजले विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । उनले स्कुलले हरेक वर्ष विराटनगर तथा मोरङ जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको स्मरण गर्दै उपस्थित अतिथि, विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद तथा आभार व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका १ नम्बरका वडाध्यक्ष काजीबहादुर बस्नेत, सन्तोष बानियाँ, नगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठ, आयरल्यान्डकी इभ्लिन, ग्रिनल्यान्ड कलेजका अध्यक्ष रविन्द्र घिमिरे र प्रिन्सिपल दिनेश दाहाललगायतले खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।



















