नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार १३:५९

काठमाडौं । कपिलवस्तुको ऐतिहासिक तिलौराकोट क्षेत्रमा नेपालको पहिलो अप्सिडल शैलीको बौद्ध मन्दिर फेला परेको छ ।

पुरातत्व विभागले लुम्बिनी विकास कोष र बेलायतको डरहम विश्वविद्यालयसँगको सहकार्यमा गरिएको उत्खननबाट उक्त संरचना पत्ता लागेको जानकारी दिएको हो । बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विवरणअनुसार ‘अप्सिडल’ मन्दिर भनेको पछाडिको भाग घुमाउरो हुने विशेष संरचना हो । जसले धार्मिक केन्द्रलाई स्पष्ट परिभाषित गर्छ र अगाडि प्रवेशद्वारसहितको प्लेटफर्म हुन्छ ।

दक्षिण एसियामा यस प्रकारका प्रारम्भिक संरचनाहरू चट्टान काटेर बनाइएका थिए भने पछि ढुंगा, काठ वा इँटाबाट निर्माण गरिएका उदाहरण भेटिन्छन् । नेपालमा भने यसअघि यस्तो स्पष्ट उदाहरण फेला परेको थिएन ।

अनुसन्धान टोलीका अनुसार तिलौराकोट सहरको केन्द्र नजिकै, सम्भावित प्राचीन दरबार परिसरका अवशेषमाथि यो मन्दिर निर्माण गरिएको देखिन्छ । विशेष कुरा के भने अप्सिडल मन्दिरहरू प्रायः छुट्टै धार्मिक क्षेत्रमा बनाइने गरिए पनि यो संरचना सहरभित्रै निर्माण गरिएको दुर्लभ उदाहरण हो ।

उत्खननका क्रममा ठूलो परिमाणमा तेलबत्ती र पूजा सामग्री भेटिएकाले यो स्थल लामो समयसम्म तीर्थयात्री र भक्तजनहरूको धार्मिक गतिविधिको केन्द्र रहेको संकेत मिलेको छ। पछिल्लो चरणमा माथिल्लो मन्दिर र मठलाई इँटाको प्लेटफर्ममुनि जानाजानी बन्द गरिएको प्रमाण पनि फेला परेको विभागले जनाएको छ ।

पुरातत्व विभागका अनुसार यो खोजले तिलौराकोटको धार्मिक र सांस्कृतिक महत्वलाई थप पुष्टि गरेको छ । नेपालमा बौद्ध वास्तुकलाको विकासक्रमबारे नयाँ अध्ययनको ढोका खोलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.