
काठमाडौँ। आईसीसी टी-२० विश्वकपको समूह चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीको सामना गर्दैछ । यस खेलमा इटलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो । इटलीका नियमित कप्तान वायन म्याड्सेन चोटका कारण मैदान बाहिर रहेकाले आज निमित्त कप्तान ह्यारी मानेन्तीले टोलीको नेतृत्व सम्हालेका छन् ।
नेपालले आजको खेलका लागि आफ्नो टोलीमा एक महत्त्वपूर्ण परिवर्तन गरेको छ । स्पिनर शेर मल्लको स्थानमा ललित राजवंशीलाई टोलीमा समावेश गरिएको छ । यससँगै ललित राजवंशीले विश्वकपमा नेपालको तर्फबाट डेब्यू गर्ने अवसर पाएका छन् । यसअघिको विश्वकप संस्करणमा १५ सदस्यीय टोलीमा अटाए पनि उनले कुनै खेल खेल्न पाएका थिएनन् ।
दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा बलियो टोली इंग्ल्यान्डसँग हार बेहोरेको थियो भने इटली पनि स्कटल्यान्डसँग पराजित भएको थियो । आजको खेलका लागि नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन् ।



















