झापा गोल्डकप : मलेसियालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा 

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १९:३६
झापा गोल्डकप : मलेसियालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा 

झापा । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।

बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।
सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ ।

खेलको १९ औं मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।

मछिन्द्रले दोस्रो गोल ८० औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरेका थिए । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गरेका हुन् ।

मलेसियाका लागि एक मात्र गोल खेलको ६० औँ मिनेटमा जोन जिडेइनाले गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

खेलको ३५ औँ मिनेटमा मछिन्द्रका प्रदीप बुढाथोकीले वान भर्सेस वानमा गोल फिनिसिङ गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो । खेलको ८८ औँ मिनेटमा मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको प्रहार क्रस बारमा लागेर बाहिरिँदा गोल अन्तर तेब्बर बनाउने अवसर गुमेको थियो ।

मलेसियाका डेभिड ओलाएको प्रहार मछिन्द्रका गोलकिपर श्रेष्ठले रोक्दा बराबरी गोल गर्न चुकेको थियो । अतिरिक्त समयमा जोन जिडाइनाको प्रहार पोस्टमा लागेर फर्किँदा मलेसिया खेलमा कम ब्याक गर्न असफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच मछिन्द्रका जोनाथन जोरिल्लाले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजकको टिम झापा–११ एफसी र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×