
झापा । बिर्तामोडमा जारी एक्सट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको (एपीएफ फुटबल क्लब) फाइनलमा पुगेको छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा एपीएफले टाइब्रेकरमा आयोजकको टोली झापा ११ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपीएफले ‘कम ब्याक’ जित हासिल गर्यो । जितसँगै एपीएफले कम्तीमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
एपीएफका सुमन श्रेष्ठ, दीपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नवीन लामाको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोकेका थिए । झापाका लागि रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।
खेलको ६१ औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए ।
झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपीएफका स्ट्राइकर नवीन लामाले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
३९ औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किँदा खेलमा अग्रता लिने अवसरबाट वञ्चित भएको थियो । खेलको ५७ औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।
एपीएफले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दीपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए ।
खेलको प्लेयर अफ द म्याच एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच हुनेछ ।



















