
विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित गढिगाउँमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फागुन २ गते दिउँसो करिब ३ बजेको समयमा ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको गोलिया लोड गरिएको ना.६ ख.७९५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको थियो ।
दुर्घटनामा परी ट्रक चालक अर्जुनधारा नगरपालिका–१० बस्ने ४० वर्षीय अनुकुमार चौधरी घाइते भएका छन् । उनको छाती र टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।
ट्रकमा लोड–अनलोडको काम गर्ने अर्जुनधारा–३ का २८ वर्षीय मुकेश मगरको दाहिने हात र खुट्टामा चोट लागेको छ, उनको अवस्था पनि मध्यम रहेको छ ।
दुर्घटनामा सोही स्थानका अन्य दुई मजदुर गम्भीर घाइते भएका छन् । ३० वर्षीय अमिर तामाङको टाउको, देब्रे खुट्टा र नाकमा गहिरो चोट लागेको छ भने २२ वर्षीय राकेश तामाङको देब्रे खुट्टा र चिउँडोमा चोट लागेको छ । घाइतेहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।























