
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसार, २०८२ को अवसरमा बुधबार शुभकामना सन्देश दिँदै पर्वमार्फत एकापसमा सद्भाव, एकता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै यस्तो पर्वले सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । शेर्पा समुदायको नयाँ वर्षको पर्व ग्याल्पो ल्होसार नेपालका हिमाली क्षेत्रका आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बीले विविध कार्यक्रम गरी मनाउँछन् ।
पर्वको अवसरमा गाउँघर, टोलका बाटोघाटो र पानीका मूल सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्सेजस्ता परिकार सबै मिलेर खाने, र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहिआएको छ । राष्ट्रपति पौडेलले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले पर्वमार्फत सम्पूर्ण नेपालीबीच भाइचारा र सद्भाव फैलिनुपर्नेमा जोड दिँदै ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताए । पर्वले धार्मिक र सांस्कृतिक उत्सव मात्र नभएर समुदायबीच आपसी सहयोग, मिलन र सामाजिक चेतना अभिवृद्धि गर्ने माध्यमको रूपमा काम गर्दै आएको उनले उल्लेख गरेका छन् ।























