विश्व सामाजिक न्याय दिवस मनाइँदै, नेपालमा पनि विविध कार्यक्रम

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार ०७:३१

काठमाडौं । विश्व सामाजिक न्याय दिवस आज (शुक्रबार) नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर मनाइँदैछ ।

यस दिवसले समाजमा विद्यमान असमानता, विभेद, गरिबी, बेरोजगारी र बहिष्करण जस्ता चुनौतीहरूलाई सम्बोधन गर्दै सबैलाई समान अवसर तथा अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई औँल्याउँछ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्तावअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा सामाजिक न्याय दिवस मनाउने निर्णय भएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को तत्वावधानमा यो दिवस विश्वभर मनाइन्छ । सामाजिक न्यायले व्यक्तिको जाति, लिंग, धर्म, रंग, अपांगता, सामाजिक र आर्थिक अवस्थाका आधारमा हुने कुनै पनि भेदभावलाई अन्त्य गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिन्छ ।

आईएलओका अनुसार सबैका लागि निष्पक्षता, समानता र आफ्नो जीवनको दिशा निर्धारण गर्ने अधिकार सुनिश्चित गर्नु नै सामाजिक न्यायको मूल भाव हो । सामाजिक न्याय शान्ति, समृद्धि र सामाजिक स्थायित्वको आधार हो । तर, अझै पनि विश्वका धेरै मानिस विभेद, शोषण र अवसरको अभावमा छन् ।

विश्व सामाजिक न्याय दिवसले सरकार, संस्था र नागरिकलाई समावेशी समाज निर्माणतर्फ सक्रिय हुन प्रेरित गर्ने उद्देश्य राख्दछ । नेपालमा पनि सरकार, स्थानीय तह र अन्तर्राष्ट्रिय संस्था महिला, बालबालिका, युवा र गरिबीमा रहेका समुदायका अधिकार संरक्षण, वातावरणीय संरक्षण र समान अवसर सुनिश्चित गर्न पहल गरिरहेका छन् ।

सामाजिक न्याय दिवसले सबै नागरिकलाई न्याय, समानता र मर्यादित जीवन सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता प्रकट गर्ने अवसर प्रदान गर्ने सरोकारवाला बताउँछन् । दिवसको अवसरमा विभिन्न सरकारी कार्यालय, नागरिक समाज र अन्तर्राष्ट्रिय संघ संस्थाहरूले कार्यक्रम आयोजना गर्दै सामाजिक न्याय, समान अवसर र श्रम अधिकारको महत्त्वलाई व्यापक रूपमा प्रचारप्रसार गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.