
सान्तोष। ब्राजिलका स्टार स्ट्राइकर नेयमारले यसै वर्षको अन्त्यमा व्यावसायिक फुटबलबाट सन्न्यास लिन सक्ने बताएका छन्। ३४ वर्षीय नेयमारले ब्राजिलको अनलाइन च्यानल ‘काजे’ सँग कुरा गर्दै आफ्नो भविष्यका बारेमा यस्तो आशय व्यक्त गरेका हुन्।
पछिल्ला केही सिजनदेखि लगातार चोटबाट ग्रसित नेयमार सन् २०२५ को सुरुमा साउदी क्लब अल-हिलाल छोडेर आफ्नो बाल्यकालको क्लब सान्तोष फर्किएका थिए। उनले हालै मात्र सान्तोषसँग २०२६ को अन्त्यसम्मका लागि सम्झौता नवीकरण गरेका छन्। यद्यपि, चोटका कारण मैदान बाहिर रहनुपर्ने बाध्यताले उनलाई सन्न्यासको सोचसम्म पुर्याएको देखिन्छ। उनले भने, ‘अब के हुन्छ मलाई थाहा छैन। डिसेम्बर आएपछि सन्न्यास लिने इच्छा जाग्न पनि सक्छ, म अहिले वर्ष-वर्षको हिसाबले मात्र अगाडि बढिरहेको छु।’
नेयमारका लागि सन् २०२६ को फिफा विश्वकप निकै महत्त्वपूर्ण छ। ब्राजिलका लागि ७९ गोल गर्दै महान् खेलाडी पेलेको कीर्तिमान तोडिसकेका उनी आफ्नो देशका लागि विश्वकप खेल्ने अन्तिम धोकोमा छन्। तर, अक्टोबर २०२३ देखि राष्ट्रिय टोलीबाट बाहिर रहेका नेयमारका लागि मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको विश्वकप टोलीमा स्थान बनाउनु ठुलो चुनौती हुनेछ। उनले यस वर्षलाई आफ्नो करियरको ‘विशेष र निर्णायक’ वर्षका रूपमा व्याख्या गरेका छन्।
सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी २० करोड पाउन्डमा पीएसजी गएका नेयमारको करियरमा चोटले ठुलो बाधा पुर्याउँदै आएको छ। उनले गत डिसेम्बरमा घुँडाको शल्यक्रिया गराएका थिए र हालै मात्र मैदानमा फर्किएका हुन्। उनको सन्न्यासको निर्णयले विश्व फुटबलमा एउटा ठुलो अध्यायको अन्त्य गर्ने निश्चित छ।

























