
काठमाडौं । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ ।
केही समयदेखि व्यावसायिक रूपमा पालिएका बंगुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बंगुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुष्टि भएको हो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमुना संकलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमुनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएकामा पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बंगुरहरूमा यो सङ्क्रमण देखिएको हो ।
किसानले समयमै सावधानी अपनाएनन् र जैविक सुरक्षाका उपायहरू लागू गरेनन् भने बंगुरपालक किसानले ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउने छ । फार्मका धनीहरूलाई सचेत गराएको र सङ्क्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको पशु चिकित्सक जोशीले बताए ।
अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेलमा भाइरसका कारण लाग्ने सङ्क्रामक र घातक महामारी भएको उल्लेख गर्दै उनले सतर्कताका लागि सबैमा आग्रह गरे ।
सङ्क्रमित बंगुरमा सुरुमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने र बंगुरहरू दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छट्पटाउने जस्ता लक्षण देखिन्छन् । विशेष गरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागको छालामा रगत जमेका रातो वा नीलो रङका धब्बाहरू देखिनु यस रोगको प्रमुख पहिचानका रूपमा रहेको छ ।























