
विराटनगर । नेपाली राजनीतिमा नयाँ र विकल्पको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र कस्ता पात्रहरूले प्रश्रय पाइरहेका छन् भन्ने दृश्य मोरङको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि रास्वपाले मोरङ–२ बाट कृष्णकुमार कार्की र मोरङ–३ बाट गणेश कार्कीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
कृष्ण र गणेशमाथि जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते अपराधिक जत्थासँगै मिसिएर मुलुकका संरचना आगो लगाउने अग्रभागमा रहेको आरोप लागिरहेको छ । संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचनासहित देश जलिरहँदा दुवै जना आगो झोस्ने र उत्सव मनाउने अग्रभागमा देखिए थिए । ‘जेनजी आन्दोलन ‘हाईज्याक’ गरेर मुलुक जलाउन तम्सिएको आरोप बोकेर उनीहरु अहिले ‘देश बनाउने’ नारासहित चुनावी अभियान चलाएर मतदाताको घरघरमा पुगिरहेका छन् ।

तर, उनीहरुले साँच्चै देश बनाउँछन् त ? भनेर स्पष्ट हुनलाई भदौ २३ र २४ गतेको अराजक एवं अपराधिक आन्दोलनलाई हेरे पुगिहाल्छ । उक्त आन्दोलनको अवस्था र वर्तमान परिस्थिति विश्लेषण गर्दा दुवै जनासँग जनताको प्रतिनिधि बन्ने नैतिक र कानुनी धरातल भने छैन । मुलुकमा आगो झोस्नेहरु कानुनी कारबाहीको भागिदार बन्नुपर्ने आवाज उठिरहेको छ । तर, मुलुक जलाएको आरोपको भारीले थिचेर नैतिकताविहीन भइसकेका उनीहरुलाई त रास्वपाले पुरस्कृत गरेर उम्मेदवार बनाइदियो ।

राजनीतिक विश्लेषक गिरीश भट्टराई आगो झोसेर राज्यका निकायका संरचना ध्वस्त बनाउने व्यक्तिले मुलुक बनाउँछन् भनेर एकरति विश्वास नभएको बताउँछन् । जेनजी आन्दोलनको आडमा राज्यका सर्वोच्च संरचनाहरूमा जुन स्तरको विध्वंश मच्चाइयो, त्यसमा प्रत्यक्ष सहभागीका रूपमा कृष्ण र गणेश देखिएका थिए । दुवै जना आन्दोलनकारी थिएनन् । उनीहरुले जेनजी उमेर पार गरिसकेका छन् ।
आन्दोलनमा उनीहरुजस्ता अराजकको ‘अवैध’ प्रवेश र मुलुकका संरचना धवस्त बनाउने कार्यमा संलग्न भएको घटनाले नै शान्तिपूर्ण जेनजी आन्दोलन ‘हाईज्याक’मा परेको भनिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । उनीहरुका अनुसार मुलुकमा कुनै पनि क्षति नपुर्याउने प्रतिबद्धतासहित सुरु भएको त्यतिबेलाको आन्दोलनमा कृष्ण र गणेशजस्ता पात्रहरुले प्रवेश गरेर घुसपैठ गरे । केहीबेरमै जलाएर खरानी बनाउँदै मुलुकका सर्वोच्च संरचनाहरु ध्वस्त पारे ।
विश्लेषकहरुका अनुसार कृष्ण र गणेशजस्ता पात्रहरुलाई आज आम नागरिकले राज्यको सम्पत्ति खरानी बनाउने व्यक्तिका रूपमा चिन्छन् । जसको प्रमाण उनीहरु आफैंले सामाजिक सञ्जालमार्फत गर्वका साथ सार्वजनिक गरेका थिए ।
भदौ २४ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्र रणमैदान बनिरहँदा कृष्ण संसद भवनको परिसरभित्र पसेर अराजकताको पराकाष्ठा नाघिरहेका थिए । फेसबुकमा सार्वजनिक भएको तस्बिरमा उनी संसद भवनभित्रका कुर्सीहरू बटुलेर आगोमा हालिरहेको देखिन्छ । राज्यको नीति निर्माण गर्ने थलोमा उनले आगो लगाएर विनाश गरिरहेका थिए ।

कृष्णले भदौ २५ गते लेखेका छन्, ‘हामी संसद भवन प्रवेश गर्यौं । संसद भवनको भित्र अगाडि हामीले पुरानो कुर्सी जम्मा गरेर आगो बालिम र खुसियाली मनाइम ।’ आज तिनै व्यक्ति त्यही संसद भवनको रोस्टममा उभिएर माननीय भनिन खोज्नु लोकतन्त्रको उपहास मात्र नभएर आम मतदाताको विवेकमाथिको ठाडो प्रहार पनि भएको राजनीतिक विश्लेषक भट्टराईको भनाइ छ ।
‘ठूला दल साह्रै विकृत भए भनेर आएकाहरुको पृष्ठभूमि त्योभन्दा कम भएन । राजनीतिलाई संलो बनाउँछु भन्नेले आफ्ना उम्मेदवार स्वच्छ छविका नदिनुले अनेक प्रश्न उब्जिएका छन् । हिजो ठूला दलमाथि राष्ट्रिय राजनीतिलाई दूषित बनाएको जुन आरोप थियो, अहिले नयाँ भनिएकाले पनि त्यसैलाई निरन्तरता दिए,’ भट्टराई भन्छन्, ‘नैतिक आचारण खराब भएकालाई टिकट दिएर पार्टीले उम्मेदवार बनाएको छ । यसले राष्ट्रिय राजनीतिलाई संलो बनाउने छाँट देखिँदैन । परम्परागत र आजका दलमा खासै फरक भएन । आम जनताले आश गर्ने ठाउँ नै रहेन ।’ उनका अनुसार नयाँ दलसँग कुनै आशाको केन्द्र देखिएन । ‘यिनीहरुले के चैं परिवर्तन गर्छन् ? मतदातालाई मतपेटिकासम्म किन जाने र भोट हाल्ने भनेर आशंका व्यक्त गर्ने पर्याप्त आधारहरु नयाँ भन्न रुचाउने दलले तयार पारिदिएका छन्,’ भट्टराई भन्छन् ।

कृष्णको अराजकता संसद भवनमा मात्र सीमित थिएन । बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी हुँदै सिंहदरबारको गेटसम्मको टोलीमा उनी अघिल्लो पंक्तिमा थिए । उनले नेताहरूको घरमा गरिएको आगजनीको जिम्मासमेत लिँदै राज्यका अर्बौंका संरचनामा क्षति पुर्याएकोमा कुनै पश्चात्ताप प्रकट गरेका छैनन् । उल्टै ‘देश बनाउँछौं’ भनेर जनतालाई ढाँट्ने र छल्ने काम गरिरहेको अन्य दलका नेता कार्यकर्ता बताउँछन् ।
कृष्णको चरित्रको सबैभन्दा रोचक र अचम्मलाग्दो पक्ष भनेको चरम अवसरवाद हो । सुरुमा उनी ‘गुन्डा नाइके’ कुमार घैंटेको टिममा आबद्ध भएर गुण्डागर्दी, असुली र अपराधिक गतिविधिमा संलग्न भएको प्रहरी स्रोतले बताएको छ । घैंटे २०७२ साल भदौ ३ गते काठमाडौंमा नेपाल प्रहरीको इन्काउन्टरमा मारिए । ‘कृष्णलगायतका घैंटे टिमका केही व्यक्ति इन्काउन्टर सूचीमा थिए । तर, त्यो घटनामा घैंटे मात्रै परे । अरु भागिहाले,’ प्रहरी उच्च स्रोतले भन्यो ।
आफू प्रहरीको निगरानीमा रहेको र जुनसुकै बेला पनि इन्काउन्टर हुनसक्ने ठानेका कृष्ण भागेर त्यसअघि नै विदेश पलायन भएको स्रोतको दाबी छ । लामो समय जापान बसेर फर्किएका उनी अन्ततः ‘देश जलाउने’ घटनामा संलग्न भए । गुन्डागर्दी पृष्ठभूमिका कृष्णले नेपाल फर्किएर सर्वोच्च संरचना जलाउन भूमिका खेलेकै कारण रास्वपाबाट पुरस्कारस्वरुप टिकट पाएको चर्चा छ ।

कृष्णले गत वैशाख १८ गते (अप्रिल १, २०२५ मा) रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै फेसबुकमा लेखेका थिए, ‘सोझा सिधा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकी म टुलुटुलु हेरेर कहाँ बस्छु भनेर भ्रम छर्छ । तर, पनि जनता पत्याउँछन्, पछि लागेकै छन् ।’ यति मात्र होइन, भदौ ३१ गते (सेप्टेम्बर १६) मा उनले लामिछानेलाई अझ कडा प्रहार गर्दै लेखेका थिए, ‘रविजी आफूले पैसा लगेको छैन भन्नुहुन्छ तर आफू मालिक भएको कम्पनीमा रकम आएपछि दोषी हुन्छ भन्ने कुरा त जनावरबाहेक मान्छे सबैलाई थाहा हुन्छ ।’ उनले अगाडि चुनौती दिएका थिए, ‘कुनै दिन म जस्तो मान्छेलाई शक्तिमा पुर्याए भने तपाईंहरू (रवि लामिछाने) र सहकारी ठगहरू दुवै पक्ष एउटै जेलमा जानुपर्छ, यति चाहिँ हेक्का रहोस् ।’

तर, कृष्णले विगतमा जसलाई जनावरबाहेक सबैलाई ठग देख्ने भनेर गाली गरे, आज तिनै रविको आशीर्वाद लिएर चुनावी मैदानमा छन् । ‘के हिजो उनले लेखेका कुरा झुट थिए ? वा आज उनले ओढेको रास्वपाको खोल झुट हो ? मोरङका जनताले सोध्नुपर्ने बेला आएको छ । हिजो रवि लामिछानेलाई जेल हाल्छु भन्ने व्यक्ति आज तिनैका कार्यकर्ता बनेर कसरी भोट माग्न सक्छन् ?,’ विश्लेषकहरुको प्रश्न छ ।
त्यति मात्रै होइन उनले रास्वपा नेता एवं तत्कालीन उपसभामुख इन्दिरा रानालाई कांग्रेस र एमालेले मानव तस्करको आरोप लगाएको बेलामा पनि आलोचना गर्दै स्टाटस लेखेका थिए । उनले सबै ठग र तस्कर भएको ठाउँमा मानव तस्कर पनि सँगै हुनुमा नौलो नभएको उल्लेख गरेका थिए ।

मोरङ–२ मा अघिल्लो निर्वाचनमा ठगेन्द्र न्यौपानेलाई रास्वपाले उम्मेदवार बनाएको थियो । यसपटक उनलाई नदिएर कृष्णलाई दिनुमा माथिकै चाहना भएको सो क्षेत्रका नेता कार्यकर्ता बताउँछन् । ‘यो त केन्द्रलाई सोध्ने प्रश्न हो,’ स्थानीय एक नेताले भने, ‘मोरङमा गत निर्वाचन लडेका कोही दोहोरिएनन् । यहाँ सबै बालेन शाह पक्षका उम्मेद्वार हुन् भन्ने सुनिन्छ ।’
कृष्ण मोरङ–२ अन्तर्गत रतुवामाईका बासिन्दा हुन् । उनले आफ्नो चुनावी अभियान चलिरहेको र माहोल एकदमै राम्रो रहेको बताए । ‘फागुन २१ गते कहिले आउँछ ? र भोट हालौं भनेर जनताहरु आतुर हुनुहुन्छ । चुनाव जनताले जिताउने हो,’ उनले भने । कुमार घैंटेको टिममा भने आफू नरहेको कृष्ण बताउँछन् । ‘म २०६७ सालदेखि नै म नेपालमा छैन । कुमार घैंटेसँग मेरो चिनजान र कुनै सरोकार थिएन । नभएको विषयमा मुछ्न खोजिएको मात्रै हो,’ उनी भन्छन्, ‘अनआवश्यक कुरा गरेर बदनाम गर्ने काम भइरहेको छ । कसैले आरोप लगाउँदैमा केही हुँदैन । बरु कृष्णकुमार कार्कीले कहाँ–कहाँ बदमासी गरेको छ ?, भनिदिनु पर्यो भनेर सबैलाई मिडियामार्फत सोध्न चाहन्छु ।’

कृष्णले संसद भवन जलाएको आरोप पनि अस्वीकार गरे । ‘बालेन (बालेन्द्र साह, काठमाडौंका पूर्वमेयर)ले नै दमकल नपठाएको भनेर आरोप लगाइएको छ । तर, दमकल भिडका कारण जान नसकेको हो,’ उनले भने । उनले मोजमस्ती र हालीमुहाली गरिरहेको अवस्थामा खाइपाइ आएको हाम्रो सबै सकिने भयो भनेर आत्तिएकाहरुले अनावश्यक भ्रम फैलाएको जिकिर गरे । ‘अब कसलाई फाल्ने र कसलाई राख्ने भनेर जनताले सबै बुझ्नु भएको छ । जनता बाठा र विवेकशील भइसक्नु भयो,’ कृष्ण भन्छन्, ‘कसैले आरोप लगाउँदैमा केही हुँदैन । अब विगतमा कसले के गर्यो भन्ने कुराको निर्णय जनताले फागुन २१ गते गर्नु हुनेछ ।’
भदौ २३ र २४ गतेलाई फर्किएर हेर्दा रास्वपाका केन्द्रीय सदस्य गणेश पनि कृष्ण भन्दा कम देखिएका छैनन् । उनले पनि देश जलाउने समूहको नेतृत्व गरेको ‘भारी’ बोकिरहेका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रास्वपा वरिष्ठ नेता बालेनको कोर टिममा रहेका उनले बालेनकै कारण टिकट पाएको बताइन्छ । बालेन आफैंले देश जलाउन उकासेको आरोप खेपिरहेका छन् ।

भदौ २३ गते सडकमै गएर जेनजी आन्दोलनलाई समर्थन गरेका गणेश २४ गते सिंहदरबार जल्दा उत्सव मनाइरहेका थिए । विध्वंसमा उत्सव मनाइरहेका उनलाई अहिले आम नागरिकले ‘देश किन जलाएको ?’ भनेर प्रश्न सोधिरहेका छन् । तर, उनीसँग त्यसको उत्तर नै छैन । जेनजी आन्दोलनमा देखिएको गणेशको सक्रियता अहिले प्रश्नको घेरामा परेको छ । घरदैलो र मतदाता भेटघाट गरिरहेका उनलाई मतदाताले सिंहदरबार जलाउने प्रमुख पात्रका रूपमा चिन्छन् । मुलुकमा किन आगो झोसियो ? भनेर मतदाताले सोध्दा उनले जवाफ दिन सकिरहेका छैनन् ।
उनले आन्दोलनलाई समर्थन गर्दै फेसबुकमा लेखेका थिए, ‘जेनजीसँगै जेनजीका काकाहरु पनि छौं । नालायक सरकार कर्फ्यु हैन, सुशासन दे ।’ गणेश मोरङ–३ अन्तर्गत पथरीशनिश्चरेका बासिन्दा हुन् । उनले आफ्नो घरदैलो, मतदाता भेटघाटलगायतका चुनावी अभियान उत्साहजनक रुपमा चलिरहेको जानकारी दिए । ‘मैले आफ्ना कुरा मान्छेसम्म पुर्याउने काम गरिरहेको छु । धेरैभन्दा धेरै मतदातालाई भेटिरहेको छु । माहोल उत्साहजनक छ । चुनाव जितिन्छ,’ उनी भन्छन् ।

तर, सिंहदरबार जलाएको अरोप भने निराधार रहेको गणेशको भनाइ छ । ‘घटनाको कुनै प्रमाण छैन । म त्यहाँ उपस्थित नै छैन । यता पथरीशनिश्चरेतिर पनि जलायो भनेर आरोप लगाइएको छ । कहाँको आरोप लगाउँदा चैं यसलाई चुनाव हराउन सकिन्छ भनेर आधारहीन कुरा गर्ने काम भइरहेको छ,’ उनी भन्छन् । भ्रष्टाचारबाट पालिएका, भ्रष्टाचारका आरोपी, २३ गते मान्छे मार्नेहरु र मरेकाको बारेमा बोल्न पनि नचाहनेहरुले आफ्नो कुकृत्य लुकाउनका लागि अरुलाई हिलो छ्याप्ने काम गरिरहेको गणेशको दाबी छ ।

देशका संरचना जलाएको आरोप लागेका धेरै जना मुलुकका विभिन्न निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार छन् । अर्को महत्वपूर्ण कुरा, पार्टी सभापति रवि लामिछाने आन्दोलनको मौका छोपेर जेलबाट बाहिर निस्किएका थिए । उनी बाहिर आएपछि विभिन्न कारागार र हिरासतबाट अनेक अपराधमा दोषी ठहर भएका कैदीबन्दी एवं थुनुवा भाग्न सफल भए । भागेका धेरै अपराधी अहिले पनि जेल बाहिरै छन् ।
रास्वपाले आफूलाई सक्षम र सुसंस्कृत राजनीतिको संवाहक दाबी गर्छ । तर, राज्यका संरचना जलाउने, संसद भवनमा आगो झोस्ने र त्यसको प्रमाण आफैं सार्वजनिक गर्ने व्यक्तिलाई उम्मेदवार बनाउनुले रास्वपाको छनोट प्रक्रिया माथि ठूलो प्रश्न उठाएको कानुनका विज्ञ एवं प्राध्यापक दिपेश बास्तोला बताउँछन् । के अराजकता फैलाउनु नै रास्वपामा योग्यताको मापदण्ड हो ? भन्ने उनको प्रश्न छ । ‘आज चुनाव लडेर जिते भने पनि भोलि छानबिन आयोगको प्रतिवेदनले दोषी देखाउँदा सांसद पद रहँदैन । तर, यहाँ हामी नयाँ हौं र नयाँ सोचका साथ आएका छौं, अब केही गर्छौं भन्नेहरुले नै राजनीतिक र नैतिक धरातल गुमाइसकेका छन्,’ विश्लेषक बास्तोलले भने ।


























