कोशीमा ४३९ मतदानस्थल अतिसंवेदनशील, त्रिस्तरीय सुरक्षा

Share this
707shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ फागुन १९, मंगलबार १७:३८

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि रहेका १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्रमध्ये ४ सय ३९ मतदानस्थल र १ हजार १६ मतदान केन्द्र अतिसंवेदनशील वर्गमा परेका हुन् ।

त्यस्तै, ८ सय २१ मतदानस्थल र १ हजार ८ सय ६९ मतदान केन्द्रलाई संवेदनशील तथा ६ सय ४७ मतदानस्थल र १ हजार ३ सय ८५ मतदान केन्द्रलाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा विश्लेषणका आधारमा विगतका घटनाको समीक्षा, मतदाताको संख्या, राजनीतिक गतिविधि, सीमा क्षेत्रको अवस्था, भौगोलिक विकटता र सम्भावित जोखिमलाई ध्यानमा राखेर वर्गीकरण गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन् । ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन कडा सुरक्षा व्यवस्था मिलाइएको छ । मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने वातावरण सुनिश्चित गरिएको छ,’ उनले भने । मनोनयनका दिन केही स्थानमा सामान्य घम्साघम्सीका घटना बाहेक हालसम्म कुनै गम्भीर अप्रिय घटना नभएको पनि उनले बताए ।

निर्वाचन सुरक्षाका लागि त्रिस्तरीय सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल एवं तेस्रोमा नेपाली सेना परिचालन गरिने छ । संवेदनशीलताको स्तरअनुसार हतियार एवं पोसाकधारी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । उच्च निगरानी, नियमित गस्ती, मोबाइल टोली र रिजर्भ फोर्स तयारी अवस्थामा राखिएको छ । प्रविधिको प्रयोगमार्फत सुरक्षा सतर्कता थप बढाइएको घिमिरेले बताए ।

प्रदेशमा १४ जिल्ला र २८ निर्वाचन क्षेत्र रहेका छन् । मोरङमा सबैभन्दा बढी ६, झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २–२ तथा ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा १–१ निर्वाचन क्षेत्र छन् । सुरक्षा अनुगमनका लागि नेपाल प्रहरीका तीन जना एसएसपी परिचालन गरिएका छन् । मोरङ र सुनसरीमा ज्ञानेन्द्र फुयाँल, झापा र इलाममा गोविन्द अधिकारी तथा उदयपुर र खोटाङमा योगेन्द्रसिंह थापा खटिएका छन् । डीएसपीको दरबन्दी भएका जिल्लामा निर्वाचन अवधिभरलाई एसपी खटाइएको छ ।

कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन् । तीमध्ये १८ लाख २८ हजार २ सय १३ पुरुष, १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य मतदाता छन् । कुल ४ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा रहेको यस निर्वाचनलाई लक्षित गर्दै ‘मास्टर प्लान’ अनुसार मतदानअघि, मतदानका दिन र मतगणनासम्म विशेष सुरक्षा व्यवस्था कायम रहने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.