
जनकपुर । धनुषाको छुट्टाछुट्टै २ स्थानमा राखिएको विस्फोट वस्तुमा छोएपछि २ जना बालबालिका घाइते भएका छन् । मिथिला नगरपालिका –१० स्थित पुलमाथि २ वटा शंकास्पद वस्तु फेला परेको थियो ।
मिथिलाको बरहरीस्थित पुलको छेउमा राखिएको विस्फोट वस्तुमा खुट्टा छोएपछि मिथिला नगरपालिका –८ जमुनिवासका टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेल र गुल्मी घर भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिका भुजेलकी दायाँबायाँ खुट्टामा सामान्य चोट लागेको छ । माझीको हात, खुट्टा र छातीमा सामान्य चोट लागेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थललाई सुरक्षित राखेर शंकास्पद वस्तु निष्क्रिय पार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र देखे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।























