
काठमाडौं । पत्रकार विराट अनुपमद्वारा लिखित पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक गरिएको छ ।
नेपालको संसदीय इतिहासमा महत्वपूर्ण मानिने २०१५ सालको पहिलो आमनिर्वाचनलाई केन्द्रमा राखेर तयार पारिएको पुस्तक मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको हो । उक्त निर्वाचनसँग सम्बन्धित ऐतिहासिक तथ्य, विवरण र सन्दर्भ पुस्तकमा समेटिएका छन् ।
बिहीबार मुलुकमा प्रतिनिधिसभा निर्वाचन छ । उक्त निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा पहिलो आमनिर्वाचनका बारेमा समेटिएको पुस्तक सार्वजनिक गर्नु अर्थपूर्ण रहेको लेखक अनुपमले बताए । अहिलेको युवा पुस्ता राजनीतिक बहसमा सक्रिय बन्दै गएको अवस्थामा यस्ता ऐतिहासिक कृतिले उनीहरूलाई लोकतान्त्रिक अभ्यासको सुरुआती चरण बुझ्न सहयोग पुर्याउने उनको बुझाइ छ ।
‘नेपालको राजनीतिसँग मतलब छैन भन्ने धारणा बदलिएको छ । नयाँ पुस्ताले देशको लोकतान्त्रिक यात्राका बारेमा जान्न चाहेको देखिन्छ,’ अनुपम भन्छन् । पुस्तकमा २०१५ सालको निर्वाचनको पृष्ठभूमि, तत्कालीन राजनीतिक अवस्था, दलहरूको तयारी, उम्मेदवारहरूको सहभागिता, मतदान प्रक्रिया तथा निर्वाचनपछिको राजनीतिक अवस्थासम्मका विषय समेटिएको जानकारी अनुपमले दिए ।
त्यतिबेला यातायात र सञ्चारको अभावजस्ता चुनौतीका बीच कसरी निर्वाचन सम्पन्न भयो भन्ने विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ । प्राध्यापक तथा लेखक जगत नेपालले पुस्तकलाई नेपालको पहिलो आमनिर्वाचनको महत्वपूर्ण अभिलेखीकरणका रूपमा व्याख्या गरे ।
उनका अनुसार लोकतन्त्रको इतिहास बुझ्न चाहने पाठकका लागि यो कृति सन्दर्भ सामग्री बन्न सक्छ । ‘ऐतिहासिक घटनाहरूलाई दस्तावेजीकरण गर्नु आवश्यक हुन्छ । २०१५ सालको निर्वाचनबारे यस्तो पुस्तक आउनु सकारात्मक कुरा हो,’ उनले भने ।
राणा शासनपछिको राजनीतिक परिवर्तनसँगै सम्पन्न भएको २०१५ सालको आमनिर्वाचनले नेपालमा संसदीय अभ्यासको औपचारिक सुरुआत गरेको थियो । त्यसैले पनि उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको आधार स्तम्भका रूपमा लिइन्छ । ‘पहिलो आमनिर्वाचन, २०१५’ले सोही ऐतिहासिक घटनालाई नयाँ पुस्तासमक्ष तथ्यसहित प्रस्तुत गर्ने प्रयास गरेको छ ।

























