
प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजा लगभग सार्वजनिक भइसकेको छ। केही क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहे पनि यो निर्वाचनले नेपालको राजनीतिक इतिहासमा एउटा स्पष्ट र भिन्न सन्देश प्रवाह गरेको छ।
यो केवल एउटा नियमित आवधिक निर्वाचन मात्र थिएन, बरु नेपाली राजनीतिमा दशकौँदेखि कायम रहेको ‘सिन्डिकेट’ विरुद्धको एउटा बलियो जनविद्रोहको लोकतान्त्रिक अभिव्यक्ति थियो।
जेनजी पुस्ताको अभूतपूर्व सडक विद्रोह र त्यसपछि बनेको अन्तरिम सरकारले यो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई नयाँ दिशा दिएको छ।
कठिन परिस्थितिमा पनि निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र कर्मचारीतन्त्र यसका लागि धन्यवादका पात्र हुन्। तर, सबैभन्दा ठूलो धन्यवादका हकदार त ती सचेत नेपाली मतदाता हुन्, जसले मतपेटिकामार्फत परिवर्तनको एजेन्डालाई अनुमोदन गरे।
यसपटकको नतिजाले पुराना भनिएका दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारेको छ। वर्षौँदेखि सत्ताको बागडोर घुमाइरहेका उही अनुहार र उही कार्यशैलीप्रति जनताको वितृष्णा कुन हदसम्म रहेछ भन्ने कुरा निर्वाचनको परिणामले छर्लङ्ग पारेको छ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको व्यापक जनसमर्थन कुनै संयोग मात्र होइन, यो सुशासन र डेलिभरीप्रतिको तीव्र जनचाहना हो।
अब देशको बागडोर सम्हाल्ने तयारीमा रहेको नयाँ नेतृत्वका लागि आगामी दिनहरू सहज छैनन्। जनतामा व्याप्त चरम निराशालाई आशामा बदल्नु पहिलो चुनौती हो। थला परेको अर्थतन्त्रलाई गति दिनु, भ्रष्टाचारको जालो च्यातेर सुशासन कायम गर्नु र सामाजिक न्याय सुनिश्चित गर्नु नै यो सरकारको मुख्य कार्यभार हुनेछ।
जनताले अब आश्वासन र भाषण होइन, परिणाम खोजिरहेका छन्। त्यसैले समय खेर नफाली पूर्ण ऊर्जाका साथ काममा होमिनुको विकल्प छैन।
नयाँ सरकारका सामु सत्ता समीकरण र आन्तरिक व्यवस्थापनका चुनौतीहरू पनि उत्तिकै छन्। सत्तारुढ दलभित्र देखिन सक्ने सानो विवाद वा नेताहरूको व्यक्तित्वको टकरावले राजनीतिक स्थिरतालाई पुनः जोखिममा पार्न सक्छ।
हिजोका दिनमा पुराना दलहरूले गरेको गल्तीलाई नदोहोर्याउनु र सत्ताको मोहभन्दा देशको आवश्यकतालाई केन्द्रमा राख्नु नै नयाँ नेतृत्वको बुद्धिमानी हुनेछ।
नेपाली जनताले परिवर्तनका लागि आफ्नो तर्फबाट स्पष्ट म्यान्डेट दिइसकेका छन्। अब पालो निर्वाचित प्रतिनिधिहरूको हो।
यदि यो ऐतिहासिक अवसरलाई व्यक्तिगत स्वार्थ वा आन्तरिक कलहमा खेर फालियो भने, त्यो जनमतमाथिको ठूलो धोका हुनेछ। सुशासनको यात्रा अब गफमा होइन, व्यवहारमा देखिनुपर्छ।

























