मलाई थाहा छ –
मलाई बोक्ने बोझ पनि म नै हुँ,
मलाई छोड्ने हात पनि म नै,
र मलाई समात्ने आश पनि म नै हुँ ।
बोझ बोक्छु, छोड्छु, फेरि समात्छु,
आफैंलाई खोज्छु,
हराउँछु,
र कतै भेट्दिनँ ।
जसरी बादल बन्छन्, वर्षा गर्छन्,
फेरि वाष्पित हुन्छन् –
त्यस्तै भावनाहरू पनि
समुद्रबाट उठ्छन्,
आकाश छुन्छन्,
र मनको पृथ्वी भिजाएर
फेरि हराउँछन् ।
के खोजिरहेछु म ?
केही थाहा छैन ।
आफैंसँग कुरा गर्छु,
तर आवाजको पनि अर्थ छैन ।
यो जिन्दगी त एउटा खुला किताबजस्तै छ,
तर त्यसलाई पढ्ने
मेरो आफ्नै आँखा छैनन् ।
मलाई खोज्दै हिँडेँ
म नै हराएको सहरमा,
तर कतै भेटिएन
मेरो नाम –
कसैको नजरमा पनि ।
जसरी बादल आकाशमा आउँछ
र फेरि बिलाउँछ,
त्यस्तै रहेछ यो ‘म’ भन्ने भ्रम पनि –
समयको एउटा क्षणिक रहरमा ।