
विराटनगर । वर्षौंसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका मोरङको सुनवर्षी र पथरीशनिश्चरेका सयौं कृषकका लागि अब नयाँ युगको सुरुवात भएको छ ।
सुनवर्षी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाका विभिन्न वडामा फैलिएको सीता–डाँस–केर्खा सिँचाइ परियोजनाको निर्माण सुरु भएसँगै कृषकको जीवनमा ठोस परिवर्तनको आधार तयार भएको हो । यो परियोजनालाई एउटा सामान्य पूर्वाधार निर्माण मात्रै नभएर ग्रामीण कृषि प्रणालीलाई आधुनिक बनाउने, उत्पादन वृद्धि गर्ने र कृषकलाई आत्मनिर्भर बनाउने दीर्घकालीन रणनीतिक पहलका रूपमा हेरिएको छ ।
एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा ‘सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना’अन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले योजना कार्यान्वयनमा ल्याएको हो । कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले पथरीशनिश्चरे–९ स्थित सीता र डाँस खोलाको दोभान क्षेत्रमा सोमबार मुख्य बाँध (हेडबक्स) निर्माणको शिलान्यास गर्दै परियोजनाको औपचारिक थालनी गरेका हुन् ।

डिभिजन प्रमुख रञ्जित झाले परियोजनालाई तीन छुट्टाछुट्टै प्याकेजमा विभाजन गरी काम अघि बढाइएको जानकारी दिए । उनका अनुसार जटिल प्राविधिक संरचना निर्माणको जिम्मा निर्माण व्यवसायीलाई दिइएको छ । त्योबाहेक स्थानीय स्रोत साधन तथा जनशक्तिबाट सम्पन्न गर्न सकिने काम जल उपभोक्ता संस्था र उपभोक्ता समितिमार्फत अघि बढाइएको छ ।
टेण्डर प्रक्रियादेखि उपभोक्तासम्मको प्रत्यक्ष संलग्नतामा निर्माण हुने परियोजनाले स्थानीयको अपनत्व बढाउने र दीर्घकालीन सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको झाको भनाइ छ । परियोजनाको कुल लागत करिब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । निर्माण व्यवसायीका रूपमा विराटनगर–३ स्थित रामजानकी–आरके जेभीले भ्याटसहित करिब १२ करोड रुपैयाँमा ठेक्का पाएको छ ।
रामजानकी–आरके जेभीका आधिकारिक प्रतिनिधि रमेश कार्कीका अनुसार आगामी कात्तिक महिनासम्म परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । साथै, जलस्रोत तथा सिँचाइ विकास डिभिजनले उपभोक्ता संस्थासँग ४० लाख रुपैयाँको सम्झौता गरेको छ । बाँकी काममा स्थानीय कृषकको श्रमदान रहनेछ ।

सिँचाइ परियोजना सम्पन्न भएपछि सुनवर्षी नगरपालिका–१ मा करिब ९५० बिघा, पथरीशनिश्चरे नगरपालिका–६ मा २१ बिघा र पथरीशनिश्चरे–९ मा ११५ बिघा जमिनमा वर्षभरि सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष प्रेम खालिङ राईले बताए । उनका अनुसार मुख्य संरचना (हेडबक्स) सीता र डाँस खोलाको दोभानमा निर्माण गरेर पानी करिब एक किलोमिटर दक्षिणतर्फ रहेको केर्खा खोलामा मिसाइनेछ । केर्खामा निर्माण गरिने दोस्रो बाँधमार्फत पानीलाई नहर प्रणालीबाट कृषकको खेतसम्म पुर्याइने राईले बताए । हाल करिब १३ किलोमिटर लामो नहर निर्माण तथा मर्मत सम्भारको काम पनि सँगसँगै अघि बढिरहेको छ ।
यसअघि कृषकहरुले खोलामा बालुवाको अस्थायी ड्याम बनाएर सिँचाइका लागि पानी लैजाने गरेका थिए । बालुवाको बाँधलाई बर्खाको बेला बाढीले भत्काइदिने गरेको थियो । बारम्बार बाँध निर्माण र मर्मत सम्भारको झन्झटसमेत कृषकहरुले बेहोर्दै आएका थिए । अब परियोजना सम्पन्न भइसकेपछि अस्थायी बाँध बनाएर पानी लैजाने गरिएको कुलोलाई नहरमा परिणत गरेर कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्याइने छ ।
स्थानीय स्तरमा यस परियोजनाको आवश्यकता निकै पहिलेदेखि थियो । सुनवर्षी नगरपालिका–१ का पूर्ववडाध्यक्ष तथा परियोजनाका पूर्वअध्यक्ष टेकबहादुर भट्टराईका अनुसार कृषकहरू वर्षौंदेखि अस्थायी बालुवाको बाँध बनाएर खेतमा सिँचाइ गर्न बाध्य थिए । बर्खाको बाढीले अस्थायी बाँध बगाइदिँदा बारम्बार पुनः निर्माण र मर्मत सम्भार गर्नुपर्ने झन्झटका साथै खर्च धेरै हुने गरेको उनले बताए । ‘अब स्थायी संरचना बनेपछि त्यो समस्या सधैंका लागि अन्त्य हुन्छ,’ भट्टराईले भने ।
उनका अनुसार यो परियोजना सहजै सुरु भएको भने होइन । २०७४ सालदेखि नै यसको लागि पहल सुरु भएको थियो । स्थानीय कृषकहरूले प्रतिबिघा २ हजार ७ सय रुपैयाँका दरले रकम संकलन गरी १० लाख ६० हजार रुपैयाँ धरौटी जम्मा गरेको भट्टराईको भनाइ छ । प्रारम्भमा २१ करोड रुपैयाँको योजना स्वीकृत भए पनि विभिन्न प्रक्रिया र पुनःसंरचनापछि लागत घटाएर १५ करोडमा झारिएको थियो ।

लामो समयको प्रशासनिक प्रक्रिया, दातृ निकायको खोजी र प्राविधिक अध्ययनपछि मात्र एडीबीको सहयोग सुनिश्चित भएको भट्टराईले बताए । उनका अनुसार परियोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि सिँचाइ सुविधाबाट तीन हजार बढी परिवार कृषकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यस परियोजनाले सिँचाइ सुविधा विस्तारसँगै समग्र कृषि प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको कोशी प्रदेशका सांसद एवं पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले बताए । उनका अनुसार सिँचाइको अभावकै कारण कृषकहरूले समयमै बाली लगाउन नपाउने, उत्पादन घट्ने र आम्दानी न्यून हुने समस्या भोग्दै आएका थिए । ‘अब समयमा वर्षा नभए पनि बालीनाली लगाउन रोकिने छैन,’ उनले भने, ‘यसले उत्पादन वृद्धिसँगै कृषकको आयस्तरमा प्रत्यक्ष सुधार ल्याउँछ ।’
अधिकारीकै पहल र अगुवामा सिँचाइ परियोजनाको निर्माण सुरु भएको स्थानीय बताउँछन् । यस्ता सिँचाइ परियोजनाले ग्रामीण अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने अधिकारीको भनाइ छ । ‘नियमित सिँचाइ उपलब्ध भएपछि कृषकहरू परम्परागत खेतीबाट व्यावसायिक र नगदे बालीतर्फ आकर्षित हुन्छन् । यसले कृषि उत्पादनको विविधीकरण र बजारमुखी उत्पादनलाई बढावा दिन्छ । उत्पादन वृद्धि हुँदा स्थानीय बजारमा खाद्यान्नको उपलब्धता बढेर खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत गर्छ । कृषकको आम्दानी बढ्दा उनीहरूको जीवनस्तरमा सुधार आउँछ,’ अधिकारीले भने ।

जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी र प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला यस्तो सिँचाइ पूर्वाधारले कृषकलाई सुरक्षित बनाउने डिभिजन प्रमुख झाले बताए । उनका अनुसार करिब ११ सय बिघा जमिनमा नियमित सिँचाइ सुविधा पुगेपछि कृषि उत्पादन, आम्दानी र ग्रामीण जीवनस्तरमा दीर्घकालीन सुधार आउनेछ ।
परियोजनाको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय सहभागिता हो । उपभोक्ता समिति र कृषकहरूको प्रत्यक्ष संलग्नताले परियोजनाको स्वामित्व स्थानीयमै रहनेछ । यसले मर्मत सम्भार र दीर्घकालीन सञ्चालनमा सहजता ल्याउने झा बताउँछन् । उनका अनुसार श्रमदानमार्फत स्थानीय स्तरको सहभागिता बढ्ने र समुदायबीच सहकार्यको भावना बलियो हुने अपेक्षा गरिएको छ ।
दीर्घकालीन हिसाबले सीता–डाँस–केर्खा सिँचाइ परियोजना पानीको आपूर्ति गर्ने संरचना मात्रै नभएर कृषि उत्पादन प्रणालीलाई सुदृढ एवं ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने र कृषकलाई आत्मनिर्भर बनाउने आधार स्तम्भका रूपमा स्थापित हुने प्रदेश सांसद अधिकारीको भनाइ छ । भविष्यमा यसलाई सुनवर्षी–४ र ५ सम्म विस्तार गर्ने योजना रहेको उनले बताए ।
उनका अनुसार वर्षौंको संघर्ष, स्थानीय पहल, जनप्रतिनिधिको सक्रियता र अन्तर्राष्ट्रिय सहयोगको संयोजनबाट सुरु भएको परियोजना अब सफल कार्यान्वयनतर्फ उन्मुख छ । ‘सिँचाइ परियोजना कृषकहरुको जीवन बदल्ने अवसर बन्नेछ । पानीका लागि आकाशतर्फ हेरिरहनु पर्ने बाध्यता अन्त्य भई आत्मविश्वासका साथ खेततर्फ फर्किने दिन सुरु हुनेछ,’ अधिकारी भन्छन् ।


























