
काठमाडौं । आगामी चैत १३ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणवश खेल स्थगित गर्नुपरेको जानकारी दिएको हो । एन्फाका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल आयोजना गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुमति मागिएको थियो । तर, राखेपले रंगशाला उपलब्ध गराउन अस्वीकृत गरेपछि प्रतियोगिता स्थगित गर्ने निर्णयमा पुग्नुपरेको एन्फाले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएपछि फुटबल प्रेमीहरूमा उत्साह छाएको थियो । तर, खेलको अन्तिम समयमा आएर मैदान अभावका कारण खेल रोकिनुले खेलकुद क्षेत्रमा भने निराशा छाएको छ ।
यसअघि चैत १३ गतेका लागि तय भएको यो खेल अब कहिले हुने वा अन्य स्थानमा सारिने भन्नेबारे एन्फाले थप स्पष्ट पारेको छैन । एन्फा र राखेपबीचको समन्वय अभावका कारण पटक पटक यस्ता अन्तर्राष्ट्रिय खेलहरू प्रभावित हुँदै आएका छन् ।



















